काठमाडौँ, कात्तिक १२ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन् ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शिक्षण अस्पताल पुगर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । रुघाखोकी सामान्य अवस्थामा नआएपछि स्वास्थ्योपचारका लागि प्रधानमन्त्री ओली आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्नका लागि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना, नेकपाका महासचिव विष्णु पौडेल, नेता झलनाथ खनाल पनि अस्पताल पुगेका छन् ।
यस्तै गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, नेकपाका नेता भीम रावल, टोपबहादुर रायमाझी, केशव बडाललगायतले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।
प्रधानमन्त्रीलाई भेटेर बाहिर निस्कएका नेकपा नेता रायमाझीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको र उपचार भइरहेको बताए ।
अस्पतालले केही समयपछि पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिने बताएको छ ।