कभर स्टोरी

विश्वकप ट्रफी आज अन्तिम दिन वसन्तपुर घुमाइने

By Bala Adhikari

October 29, 2018

काठमाडौँ, कात्तिक १२ । विगत चार दिनदेखि प्रदर्शनका लागि नेपालमा ल्याइएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज अन्तिम दिन वसन्तपुर घुमाइँदैछ ।

आज दिउँसो ट्रफी वसन्तपुर घुमाइने र अपराह्न भारत लगिने आइसिसीकी नेपाल प्रतिनिधि भावना घिमिरेको भनाइ छ । नेपालमा रहँदा ट्रफीलाई पहिलो दिन शुक्रबार स्वयम्भू, दोस्रो दिन पोखरा र आइतबार चन्द्रागिरि पुर्याइएको थियो ।

आइतबार साँझ ट्रफी राष्ट्रिपति विद्यादेवी भण्डारीसमक्ष सार्वजनिक गरिएको थियो । आइसिसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपालमासमेत प्रदर्शन गरिएको हो । नेपालले एकदिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याएको घिमिरेले बताइन् ।

विश्वकपको ट्रफी निशान कम्पनीको सहायताले विश्वभर प्रदर्शन गरिँदैछ । क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलोपटक ल्याइएको हो । एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफीटुर ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र युनाइटेड अरब इमिरेट्स (युएइ) हुँदै नेपाल ल्याइएको थियो ।

ट्रफी नेपालबाट भारत, न्यूजील्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्याण्ड लगिनेछ । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले बताएको छ ।