कभर स्टोरी

‘स्वच्छ रुपमा न्यायसम्पादनका लागि सरोकारवाहरुको साथ चाहिने’

By Bala Adhikari

November 01, 2018

नुवाकोट, कात्तिक १५ । न्यायिक प्रक्रिया अनुसार नै न्याय सम्पादन हुने भएकाले कहीँ कतैबाट हस्तक्षेप नगर्नका लागि महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अनुरोध गरे ।

विदुरमा आज जिल्ला सरकारी वकिल कार्यालय भवनको उद्घाटनपछि उनले न्यायिक प्रक्रियाहरुमा हुने राजनीतिकलगायत अन्य हस्तक्षेपतर्फ सङ्केत गर्दै स्वच्छ रुपमा न्यायसम्पादनका लागि जिल्लाका सबै सरोकारवाहरुको साथ चाहिने बताए ।

उनले भने– न्याय सम्पादनका लागि सबैले उपयुक्त वातावरण बनाउन सहयोग गर्नुहोला, सहयोग गर्न सक्नु भएन भने पनि हस्तक्षेप चाहिँ नगर्नु होला, न्याय सम्पादनका क्रममा कोही पक्राउ पनि पर्न सक्छन्, त्यो न्यायिक प्रक्रियामार्फत हुन्छ । धेरै दौडधुप नगर्नु होला । दौडधुपले केही हुन्न । न्याय सम्पादन आफ्नै ढङ्गले हुन्छ ।

महान्यायाधिवक्ता खरेलले नयाँ भवन निर्माणपछि न्याय सम्पादन सहज हुने उनले बताए । भवन जत्तिकै आन्तरिक क्रियाकलाप पनि स्वच्छ भए मात्र न्याय सम्पादन छरितो हुने महान्यायाधिवक्ता खरेलको भनाइ छ । मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपाने उपाध्यायले न्यायको पहुँचभन्दा बाहिर रहेकालाई न्यायिक पहँुचमा प्रवेश गराई न्याय सम्पादन गर्ने कार्य चुनौतीपूर्ण रहेको बताएका छन् ।

सांसद नारायणप्रसाद खतिवडाले जिल्लाका न्यायिक निकायहरुबाट स्वच्छ र निपष्क्ष न्याय सम्पादनको अपेक्षा गरेको बताए । सांसद हितबहादुर तामाङले न्यायसम्पादनका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग र हातेमालो गर्न तयार रहेको बताए ।

वैशाख १२ को भूकम्पले सरकारी वकिलको कार्यालय भत्काएपछि रु दुई करोड ३६ लाख ९५ लाख ६६१ मा साँढे दुईतले भवन निर्माण भएको जिल्ला न्यायाधिवक्ता बिमल थापाले जानकारी गराएका छन् । भवन भूकम्पले भत्काएपछि भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको थियो । अब आवश्यक फर्निचरको व्यवस्थापनपछि नयाँ भवनबाट सेवा शुचारु गरिने न्यायाधिवक्ता थापाले जानकारी गराए ।