काठमाडौँ, कात्तिक २० । शान्ति प्रक्रियाको सफलता र समावेशी नयाँ संविधानका कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उच्च भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् ।
दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ महानगरपालिका– २८ कमिटीले अनामनगरमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले कतिपय मुलुकले नेपालको शान्ति प्रक्रियाका अनुभवलाई पछ्याउन थालेको प्रष्ट पारे ।
ज्ञवालीले संयुक्त राष्ट्रसंघको ७३औँ महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रियाको सफलता र नयाँ संविधानको प्रगतिशील व्यवस्थाबारे सम्बोधन गरिरहँदा विश्व जगतले चनाखो भएर सुनेको चर्चा गर्दै नेपालको छवि विगतको तुलनामा उच्च भएको बताए ।
दक्षिण सुडान, अफगानिस्तान र म्यानमालगायत मुलुकका उच्चस्तरीय प्रतिनिधि नेपाल आएर यहाँको शान्ति प्रक्रियाबारे अध्ययन गरेर गएको भन्दै ज्ञवालीले पछिल्लो समयमा नेपालले छिमेकी भारत र चीनसँगको सम्बन्धलाई सन्तुलितरूपमा सुधार गरेको जानकारी गराए ।
संघीय संरचना भर्खरै बनेकाले सरकारले छोटो समयमा जनताका सबै अपेक्षा पूरा गर्न नसकेको मन्त्री ज्ञवालीले बताए । उनले समृद्धिको लक्ष्यलाई केन्द्रविन्दु बनाएर काम गरीरहेको बताएका छन् ।
नेकपाका केन्द्रीय सदस्य हिमाल शर्माले पछिल्लो समयमा नेपालको परराष्ट्र सम्बन्धमा सुधार आएको जानकारी गराए । अर्का केन्द्रीय सदस्य बलराम बाँस्कोटाले चाडपर्वपछि सरकारले गति लिने विश्वास व्यक्त गरेका छन् ।