जिल्ला-विशेष

फोहोरको उचित व्यवस्थापन हुन नसक्दा वातावरण प्रदुषित

By Bala Adhikari

November 11, 2018

लहान, कात्तिक २५ । सिरहाको गोलबजार नगरपालिकाको बजार क्षेत्रबाट सङ्कलित फोहरमैला व्यवस्थापनको अभावमा खोलामा फाल्दा वातावरण दुर्गन्धित बनेको छ ।

फोहोर व्यवस्थापनका लागि डम्पिङसाइट नहुँदा सङ्कलित फोहरमैला नजिकैको खोलामा फ्याँकिदै आएको छ । गोलबजार नगरपालिकाले बजार क्षेत्रबाट दिनहुँ सङ्कलन हुने फोहरमैला गोलबजार नजिकै रहेको मैनावती खोलामा फाल्ने गरेकाले किनारमा फोहरको थुप्रो बढ्दै गएको र त्यस क्षेत्रको वातावरण दुर्गन्धित बन्दै गएको छ ।

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको मैनावती खोलाको पुल नजिक दिनहुँ अव्यस्थित तरिकाले फोहर फ्याँल्दा खोलासँगै रहेको विद्यालय र गाउँबजार प्रदूषित बन्दै गएपछि स्थानीयवासीमा असर परेको छ । खोलामा फ्याँकिने गरेको फोहरको गन्धका कारण बजार क्षेत्र तथा राजमार्गबाट आवतजावत गर्ने यात्रुसमेत नाक थुनेर हिँड्ने गरेको स्थानीयवासी विजयकुमार सिंहले बताए ।

फोहरको उचित व्यवस्थापन नहँुदा विभिन्न किसिमका रोगसमेत फैलिने सम्भावना रहेको उनको भनाइ छ । फोहर व्यवस्थापन गरी कुहिने फोहरबाट मल उत्पादन गरी नगरपालिका तथा गाउँपालिकामा समेत आयमा वृद्धि हुनसक्ने अवस्था हुँदाहुँदै पनि त्यसतर्फ नगरपालिकाको उचित ध्यान नहुँदा स्वास्थ्यको जोखिम बढेको सिरहाका सरसफाइदूत धीरेन्द्रकुमार साहले बताए ।

केही दिनअघि गोलबजार नगरपालिकाले सूचना जारी गर्दै आफूखुशी फोहर नफाल्न र फालेको भेटिए कारवाही हुने बताए पनि नगरपालिकाले आफैले बनाएकोे ‘समृद्ध र स्वच्छ’ नगरको नारालाई लत्याउँदै खोलामा सिधैँ फोहर फ्याँल्दा आफूहरू समस्यामा परेको स्थानीयवासीको भनाइ छ ।

यता गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले फोहर फ्याँल्ने कुनै डम्पिङसाइट नहँुदा अस्थायी रूपमा मात्र खोला किनारमा फोहरमैला व्यवस्थापन गरिँदै आएको बताउदै डम्पिङसाइट निर्माणका लागि जग्गा र बजेटसमेत व्यवस्थापन भइसकेकाले छिट्टै निर्माण हुने बताए ।