वालिङ, कात्तिक २५ । नेपालमा बेरोजगारीको संख्या बृद्धि हुँदै गए पछि विदेशिने नेपालीको संख्यामा पनि वृद्धि हुँदै गइरहेको छ । विदेशी भुमिमा गएर पैसा कमाएर ल्याउने र परिवारको इच्छा पुर्ति गर्ने सपना बोकेर नेपालीहरु दिनहु विदेशी भुमिमा पसिना बगाइरहेका छन् ।
विदशी भुमिमा गएर कमाएको पैसा कतिपयले नेपालमै आएर लगानी गर्ने गरेको पनि पाइन्छ । मलेसियामा करीब सात वर्ष बिताएका स्याङ्जाको वालिङ–१३ का श्यामबहादुर विकले चार वर्षअघि केबिएसबी बङ्गुर फार्म दर्ता गरी झोलुङ्गे बजारमा दुई रोपनी जग्गा भाडामा लिएर व्यवसाय शुरु गरेका थिए ।
विक बङ्गुरपालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । सामान्य रूपमा घरमा पाल्दै आएका माउहरूबाट पाठापाठी उत्पादन गरी बिक्री गर्दै आएका उनले व्यावसायिक रूपमै अगाडि बढाउने निर्णय गरेर यस्तो व्यवसायलाई नै अगाडि बढाएका हुन् । विक अहिले उदाहरणीय व्यवसायी बनेका छन् ।
उनले १५ लाख रुपैयाँ लगानीमा खोर निर्माण गरी घरमै उत्पादन भएका माउ तथा पाठापाठीहरूबाट व्यवसाय थालेका थिए ।
व्यवसायी विकले– शुरुमा मासु प्रयोजनका लागि बङ्गुर तथा पाठापाठीहरू प्रयोग गर्थे, अहिले पाठापाठी उत्पादन गरी बिक्री गर्न थालेको छु वर्षमा ३०० बढी पाठापाठीहरू बिक्री गर्ने गरेको छु । बङ्गुर तथा पाठापाठी बिक्रीबाट वार्षिक १३ लाखदेखि १५ लाखसम्म आम्दानी गर्ने गरेको उनले बताए ।
सरकारले कृषिमा सहुलियत दरमा ऋण उपलब्ध गराउने भने पनि वास्तविक कृषकसम्म ऋण पुग्न सकेको छैन उनले भने– कृषकलाई अनुदानभन्दा पनि सस्तो ब्याजदरमा सुलभ तरिकाले ऋण पाउने व्यवस्था मिलाइदिए राम्रो हुने थियो ।