काठमाडौं, कात्तिक २६ । दशैको समयमा मात्र नयाँ नोट साट्न पाउने अवस्थाको अन्त्य भएको छ । आज भन्दा पहिला नेपाली नयाँ नोट दशैंको बेलामा मात्र साट्न पाइन्थ्यो भने अब दसैंबाहेक अन्य चाडपर्वको बेलामा पनि साट्न सकिने भएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै दसैं बाहेक अन्य चाड पर्वको समयमा पनि नयाँ नोट साट्ने पाइने व्यवस्था गरिएको बताएको हो ।
नव वर्ष, उभौली, बुद्ध जयन्ती, गौरा पर्व, इन्द्रजात्रा, छठ, संविधान दिवस लगायतका राष्ट्रिय चाडपर्व तथा राष्ट्रिय दिवसहरुमा पनि नयाँ नोट साट्न सक्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जानकारी गराएको छ ।
राष्ट्र बैंकले मुद्रा व्यवस्था विभाग थापाथली तथा बैंकको उपत्यका बाहिरका शाखा कार्यालयहरु विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयबाट नयाँ नोट साट्ने व्यवस्था छ ।