कभर स्टोरी

विपद् न्यूनीकरणमा सरकारले नीतिगत पहल गर्ने : गृहमन्त्री

By Bala Adhikari

November 12, 2018

म्याग्दी, कात्तिक २६ । मानवीय लापर्बाहीले गर्दा घट्ने घटनाबाटा हुने क्षतिको न्यूनीकरणमा सतर्कता अपनाउनुपर्ने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।

उनले बेनीस्थित जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रको सोमबार उद्घाटन गर्दै मानवसिर्जित विपद् न्यूनीकरणमा सरकारले नीतिगत पहल गर्ने बताए ।

जथाभावी सडक निर्माण, मापदण्ड पूरा नगरी भवन बनाउनेजस्ता कारणले हुने विपद्बाट हुने मानवीय र भौतिक क्षतिको न्यूनीकरणका लागि विपद् व्यवस्थापन नियमावली परिमार्जन गर्न लागिएको गृहमन्त्री थापाले जनाएका छन् ।

विकास निर्माणलाई तीव्रता दिन सरकारले सुरक्षा व्यवस्थालाई सशक्त बनाउन विशेष कार्ययोजना बनाउन लागेको उल्लेख गर्दै उनले मदिरा र लागुऔषध न्यूनीकरणका लागि प्रहरीले स्थानीय तह र समुदायसँग समन्वय गरेर अभियान थालेको बताए ।

कालोबजारी नियन्त्रणका लागि सरकार सशक्त रूपमा अगाडि बढ्ने जनाउँदै उनले सुरक्षाको पहुँच विस्तारका लागि प्रहरी चौकी थप गर्ने बताएका छन् । म्याग्दीको पर्यटन र जलविद्युत् क्षेत्रको प्रचुर सम्भावनालाई समृद्धिमा रूपान्तरणका लागि सरकार प्रतिबद्ध रहेको मन्त्री थापाको भनाइ थियो ।

उनले हिमालै हिमाल भएर पनि म्याग्दी हिमाली जिल्ला घोषणा हुन नसक्दा कर्मचारी आउनै नमान्ने र आएपछि सरुवा भइहाल्ने कारण उत्पन्न कर्मचारी अभावको समस्या सुल्झाउनका लागि नीतिगत रुपमा पहल गर्ने जनाए ।

प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रबाट पहिरो, कटान, दुर्घटनाको अवस्थामा सूचना सङ्कलन, विश्लेषण, खोज, उद्धार र राहतको कामलाई व्यवस्थित गर्नका लागि सजिलो हुने प्रस्ट पारे ।

सूचना प्रविधिको सुविधा उपलब्ध केन्द्रमा जनपद र सशस्त्र प्रहरी तथा प्रशासनबाट चौबीसै घण्टा एकएक जना जनशक्ति खटाइने प्रजिअ अधिकारीले बताए ।