जिल्ला-विशेष

५ बर्षपछि पक्की पुल निर्माण सम्पन्न

By Bala Adhikari

November 13, 2018

– बद्री पन्त

जाजरकोट, कात्तिक २७ । भेरी नदीमा पक्की पुल बनेपछि रुकुम पश्चिमको चिसापानी र जाजरकोटको कालीमाटीलाई सडक सञ्जालले जोडेको छ । जाजरकोट डोल्पा – सडक अन्तर्गत चिसापानी बैरीताल पुल निर्माण सम्पन्न भएसँगै स्थानीय बासिन्दामा खुशी छाउनुका साथै दैनिक उपभोग्य बस्तुको आपुर्तिमा समेत सजिलो भएको छ ।

नलगाड नगरपालिका १, बैरीताल र रुकुम पश्चिम आठबीसकोट नगरपालिका ११ विच भेरी नदीमा निर्माण शुरु भएको ५ बर्ष पछि उक्त पुलको निर्माण सम्पन्न भएको हो । भेरी नदीको चिसापानी बैरीतालमा स्टील ट्रस पक्की मोटर पुल बनेको हो ।

९ करोडको लागतमा निर्माण सम्पन्न पुल ६६ मीटर लम्बाई र साडे सात मीटर चौडाईको छ । पुल बनेपछि यात्रुवाहक सवारी साधन निर्वाध रुपमा आवजावत गर्न थालेका छन् । पुलबाट ब्यापारी सहज रुपमा सामान ओसारपसार गर्न थालेका छन् । पुलले यात्रा सहज बनाएपछि स्थानीय खुशी भएका छन् ।

यस अघि सवारी तथा ढुवानी साधन रुकुम पश्चिमको चिसापानीसम्म पुग्ने गरेका थिए । ट्रक र ट्याक्टरले चिसापानी सम्म पुर्याएको सामानलाई कालीमाठी, दल्ली, कैना लगायत स्थान लैजान पिठ्युमा बोकेरै बैरीतालको झोलुङ्गे पुल तानुपर्र्ने वाध्यता थियो ।

पुलले चिसापानी र कालीमाठी मात्र जोडिएका हैनन्, सदरमुकाम खलंगा, सुर्खेत, नेपालगंज लगायत स्थानसम्मको यात्र पनि सहज भएको छ । गाडी चढ्न रुकुम पश्चिमको चिसापानीसम्म पैदल हिड्नु पर्ने बाध्यताको अन्त्य हुनुको साथै सामान ढुवानीमा सहज भएको नलगाड २ का लभकुस वलीले बताए ।

पुल बनेपछि नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र डोल्पाका बासिन्दालाई आवजावत गर्न र उपभोग्य बस्तु आपुर्तीमा निकै सहज भएको छ । सडक सञ्जालले नजोडिदा बारेकोट गाउँपालिका बासिन्दालाई भने कालीमाठी बजारसम्म पैदल हिड्नु पर्ने वाध्यता टरेको छ ।

जाजरकोट डोल्पा सडकमा पर्ने दर्जन खोलामा पुल नबन्दा डोल्पासम्मको सीधा यातायात गर्न बाधा पुगेको छ । पुल निर्माणले दैनिक उपधोग्य सामग्रीको ढुवानी सहज भएको छ । पुल नहुदा एक ट्रक सामान चिसापानीबाट कालीमाठी पुर्याउन २५ हजार खर्च लाग्थ्यो, अहिले २ हजार खर्च हुदैन व्यापारी देविलाल वलीले बताए ।

भौगोलिक विकटता, सडक पहुँचको अभाव लगायत कारण ३ बर्षमै निर्माण सम्पन्न हुने पुल ५ बर्षपछि निर्माण भएको सडक डिभीजन कार्यालय चौरजहारीका इन्जिनियर सुशील पौडेलले बताएका छन् । पुलको निर्माण आशीष निर्माण सेवा भरतपुर, चितवनले गरेको हो ।

जाजरकोट डोल्पा – सडक अन्र्तगत पर्ने खोलाहरुमा धामाधम पुल बन्ने कार्य जारीरहेको पौडेलको भनाइ छ । नलसिंहगाड खोला र ताँसुखोलामा पनि निर्माणका लागि विस्तृत सर्भे भैसकेको छ ।

भेरी नदीको तल्लुबगर – छरीबगर स्थित पुल पनि चालु आर्थिक बर्षदेखि नै निर्माण शुरु हुने भएको छ । तल्लुबगर – छरीबगर, नलसिंहगाड खोला, ताँसुगाड खोला, त्रिबेणी – करपगार, खदाङ्ग, लगायत स्थानमा मोटरेवल पुल नबनेसम्म जाजरकोट डोल्पा सडकमा यात्रा गर्न कठिनाई हुने इन्जिनियर पौडेलले बताएका छन् ।