ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट महानगरीय प्रहरी वृत्त लैनचौरले ३५ बालबालिकाको उद्धार गरेको छ ।
महानगरीय प्रहरी परिसर टेकुको सक्रियतामा एक हप्तासम्म चलाइएको ‘बालबालिकाको उद्धार विशेष कार्यक्रम’बाट ती बालबालिका उद्दार भएका हुन् ।
विभिन्न डान्सबारमा काम गर्नुका साथै मनोरञ्जन लिइरहेको अवस्थामा बालबालिकाको उद्धार गरिएको वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक गौतमकुमार केसीले बताए । उद्धार गरिएका अधिकांश बालबालिकालाई मनोपरामर्श दिई अभिभावकको जिम्मा लगाएको उनले जनाएका छन् ।
बालबालिकालाई डान्सबारमा काम लगाउने युनिक डान्सबार र बेबो डान्सबारका तीन सञ्चालकलाई पनि वृत्तले पक्राउ गरेको छ । उनीहरुलाई बालबालिका ऐन–२०७५ अनुसार कारवाही प्रक्रिया अगाडि बढाइने केसीले जनाए ।