पर्वत, कात्तिक २९ । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी ३४ वर्षीय सेती परियारले श्रीमानको इन्कारीका कारण विवाह गरेको १७ वर्षपछि बल्ल नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन् ।
उनका श्रीमान् गोविन्द दमाईबाट दिनहुँ घरेलु हिंसा खेप्नुका साथै विभिन्न अवसरबाट वञ्चित भएकी परियारले ससुरा ठूले दमाईले सनाखत गरेपछि बिहीबार जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएकी हुन् ।
उनले आफू श्रीमानबाट दैनिक पीडित बन्नु परेको र नेपाली नागरिकतासमेत पाउन नसकेको भन्दै २०७५ कात्तिक ८ गते पर्वत इन्सेक प्रतिनिधिसमक्ष सहयोगका लागि निवेदन दिएकी थिइन् ।
सो निवेदनको आधारमा जलजला गाउँपालिका–७ धाइरिङका वडा अध्यक्ष टुङ्गनाथ शर्मा र प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल समक्ष पटकपटक अनुरोध गरिएको इन्सेक प्रतिनिधि सन्तोष थापाले बताए ।
नागरिकता पाए पछि उनले आफ्नो अधिकार खोज्ने ढोका बल्ल खुल्ला भएकोमा खुशी भएकी छिन् ।