कभर स्टोरी

सरकार गुणस्तरीय शिक्षा प्रवर्धनमा लागिपरेको छ : पोखरेल

By Bala Adhikari

November 16, 2018

काठमाडौँ, कात्तिक ३० । सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गरी गुणस्तरीय शिक्षा प्रवर्धनमा नेपाल सरकार लागिपरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।

दक्षिण कोरियाको राजधानी सोलमा भएको सूचना तथा सञ्चार प्रविधि नेतृत्वसम्बन्धी कार्यशालामा बोल्दै बिहीबार उनले शैक्षिक उन्नयनका निम्ति सरकारले सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गरिरहेको बताएका हुन् ।

मन्त्री पोखरलले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न नेपाल सरकारले अवलम्बन गरेका नीतिका साथै सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएका नवीनतम् विकासलाई आत्मसात गर्दै शैक्षिक विकासका कार्यक्रम अगाडि बढाइएको बताएको सोलस्थित नेपाली दूृतावासले जानकारी गराएको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने लक्ष्यलाई साकार बनाउनका लागि सरकारले उच्च प्राथमिकताका साथ सूचना तथा सञ्चार प्रविधिको पूर्वाधार निर्माणलाई पनि उत्तिकै प्राथमिकता दिएको जनाउँदै त्यस्ता पूर्वाधारले दिगो विकासका लक्ष्य हासिल गर्नका लागिसमेत मद्दत पुग्ने उनको भनाइ छ ।