पोखरा, मङ्सिर २ । पार्टीमा एकताको विकल्प नभएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठले बताएका छन् ।
नेपाली कांग्रेस, केन्द्रीय राजनीतिक प्रस्ताव मस्यौदा समितिको आयोजना एवं नेपाली कांग्रेस कास्कीको व्यवस्थापनमा आज आयोजित ‘पार्टीको राजनीतिक प्रस्ताव सुझाव सङ्कलनका लागि गण्डकी प्रदेशस्तरीय कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै उनले गुट उपगुटमा विभाजित बन्दा पार्टी कमजोर भएको बताएका छन् ।
नेपाली जनताले एकताबद्ध सङ्गठित कांग्रेसको अपेक्षा गरेको भन्दै उनले पार्टीको आन्तरिक सङ्गठन बलियो बनाउँदै अघि बढ्नुपर्ने अडान अघि सारेका छन् ।
वर्तमान सरकारले जनताले अपेक्षा गरे अनुसारको काम गर्न नसकेको भन्दै उनले जथाभावी कर वृद्धि र महङ्गीको मारमा जनता परेको बताए ।
पूर्वमन्त्री यज्ञबहादुर थापाले कांग्रेसलाई सशक्त बनाउँदै आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने गरी लाग्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेस केन्द्रीय राजनीतिक प्रस्ताव मस्यौदा समितिका सदस्य महेन्द्र यादव, नेता शुक्रराज शर्मा, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, सचिव देवेन्द्र रानाभाट लगायतले पार्टीको सशक्तिकरण लगायतका विषयमा आ–आफ्ना विचार व्यक्त गरेका थिए ।