आर्थिक

मन्त्री पुनद्वारा तामाकोशीको कार्यप्रगतिका बारेमा चासो व्यक्त

By Bala Adhikari

November 19, 2018

काठमाडौँ, मङ्सिर ३ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरव बोकेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कार्य प्रगतिका बारेमा चासो देखाएका छन् ।

आयोजनाको कूल भौतिक प्रगति ९७ प्रतिशत भए पनि विद्युत् उत्पादन हुने समय सरेको र लागत समेत बढ्दै गएका कारण उनले त्यसप्रति चासो देखाएको सचिवालयले बताएको छ ।

काम पछिल्ला दिनमा आयोजनाको प्रभावकारी नभएको भन्दै मन्त्री पुनले समस्या सुल्झाई जति सक्दो चाँडो विद्युत् उत्पादन थाल्ने वातावरण तयार पार्नसमेत नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठलाई निर्देशन दिएका छन् ।

शुरुमा आयोजनाको लागत रु ३५ अर्ब रहेको भए पनि पछिल्लो दिनमा निर्माण सामग्रीको मूल्य बढेको, अमेरिकी डलरमा भएको मूल्य वृद्धिका कारण लागत वृद्धि भएर रु ७० अर्बको हाराहारीमा पुग्ने अवस्था आएको छ । त्यसमा लागत अवधिको ब्याजसमेत जोडिएको छ ।

आयोजनाको भौतिक निर्माणको काम करीब करीब सकिने अवस्थामा पुगेको भए पनि केही निर्माण व्यवसायीले समयमा काम नगरिदिँदा विद्युत् उत्पादनको मिति नै पर सर्न पुगेको छ । सुरुङभित्र जडान गर्नुपर्ने ठूला पाइप आयातमा समस्या देखिएको छ ।

लामोसाँघु–जिरी सडकखण्ड मर्मतमा ढिलाइ हुँदा निर्माण सामग्री आयातमा ढिलाइ भएको भन्दै पछिल्ला दिनमा आयोजनाको सुरुङमा जडान हुने पाइप आयोजना स्थल पुग्न सकेको छैन । आयोजनाको सुरुङभित्र रहेका दुई वटा ठाडो सुरुङ (३७० मिटर र ३१० मिटर) मा पाइप जडान गर्ने काम सकिएको छैन ।

आयोजनाले आगामी असारमा परीक्षण उत्पादन थाल्ने र आगामी कात्तिकदेखि व्यावसायिक उत्पादनलाई अगाडि बढाउने लक्ष्य लिएको छ । विगतमा आगामी पुस मसान्तदेखि नै परीक्षण उत्पादन थाल्ने कार्यतालिका तय गरिएको थियो ।

मन्त्री पुनले आयोजनामा देखिएको समस्या समाधानका लागि स्थलगत अनुगमन गर्ने र आयोजना स्थलमा नै समस्या समाधान गर्ने तयारी गरेका छन् ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललाई मिलाएर काम गराउने तयारीमा आफूहरु लागिपरेको बताए ।

हाइड्रोमेकानिकल कामको जिम्मा भारतीय ठेकेदार कम्पनी टेलम्याको रहेको छ भने इलेक्ट्रोमेकानिकलको जिम्मा एन्ड्रिज हाइड्रोको रहेको छ ।  सुरुङभित्र जडान गर्नुपर्ने ५९ वटा पाइप प्राधिकरणको सुनकोशी विद्युत् गृहमा छ ।

आयोजनालाई गति दिने र तोकिएको समयमा नै सम्पन्न गराउने तवरले मन्त्रीले चासो व्यक्त गरेको र त्यसलाई सहज रूपमा लिँदै आयोजना स्थलमा देखिएको समस्या समाधानका लागि आफुहरु प्रतिबद्ध भएर लागेको प्रवक्ता डा न्यौपानेको भनाइ छ ।