काठमाडौं श्रावण ५ । तेस्रो चरणको स्थानीय तह निर्वाचन आगामी असोज २ को लागि तय गरिएको निर्वाचनमा १०० सिट जित्ने नेपाली कांग्रेसले टार्गेट बनाएको छ । तेश्रो चरणको स्थानीय चुनावको तयारीका लागि बिहिबार राजधानीमा आयोजित २ नम्बर प्रदेशको भेलामा कांग्रेसले १०० सिट जित्ने टार्गेट रहेको बताएको छ ।
नेकाको प्रतिस्पर्धी मधेसी दल नभएर नेकपा एमाले भएको उल्लेख गर्दै मधेसमा आफ्नो टार्गेट मिट गर्ने बताएको छ । कांग्रेस प्रभावशाली नेता पूर्व गृहमन्त्री विमलेन्द्र निधिले सो भेलालाई सम्बोधन गर्दै दुई नम्बर प्रदेशको चुनाव कांग्रेसको लागि प्रतिष्ठाको विषय भएको बताएका छन् । नीधिले अघिल्लो चरणको चुनाव पार्टीभित्रकै गुट उपगुटका कारण तथा अन्य प्राविधिक कारणले हारिएको उल्लेख गर्दै तेस्रो चरणको निर्वाचनबाट पहिलो बन्ने कुरामा कुनै शंका नगर्न आग्रह गरेका छन् । हाम्रै कारणले पहिलेको चुनावमा हारिएको हो नीधिले भने । तेस्रो चरणमा पहिलो र दोश्रो चरणको निर्वाचनको क्षतिपूर्ति असुल गर्ने गरी पार्टी अघि अगाडी बढ्ने बताएका छन् । १२७ स्थानीय तह भएको दुई नम्बर प्रदेशसँग कांग्रेसको सम्बन्ध प्रगाढ रहेको दाबी गर्दै निधिले पार्टीले १०० सिट जित्ने बताए । कांग्रेसको प्रतिस्पर्धा मधेसी दलसँग नभई एमालेसँग हुने बताउँदै उनले मधेसमा पार्टीले गरेको विभिन्न सर्वेक्षणमा एमालेका निकै काम कुरादेखि लिएर उम्मेदवारले पनि फरक पर्ने दाबी गरे ।
सप्तरीदेखि धनुषासम्म ९६ ओटा तह रहेको छ उल्लेख गर्दै हामीले स्याम्पलिङ गर्दा एमालेले १९ मात्रै जितेको नीधिले बताए । यो हाम्रा लागि सुखद पक्ष रहेको ठहर गर्दै उनले संशोधन प्रस्ताव पारित गराउन सरकार तयार रहेको स्पष्ट पार्दै मधेसी दल (राजपा) पनि असोज २ को चुनावमा सहभागि हुने विश्वास व्यक्त गरे । उनले नेता कार्यकर्तालाई गुट उपगुटमा नरुमल्लिई प्रभावकारी नतिजा ल्याउने गरी लागि पर्न आग्रह गरेका छन् । नेका एकढिक्का भएर लागि परे त्यसका लागि पार्टीले आवश्यक सबै सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका नेता एवम् केन्द्रीय पदाधिकारीको उपस्थितमा भेला भएको हो । सो भेलामा प्रदेश नं २ का केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद, पूर्वसांसद, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, क्षेत्रीय सभापति र संविधानसभा सदस्य निर्वाचन २०७० का प्रत्यक्षतर्फका उम्मेदवारका प्रत्यासी सहभागी भएका छन् ।