कभर स्टोरी

द्वन्द्वपीडितको अवस्था विगतको भन्दा राम्रो : दाहाल

By Bala Adhikari

November 21, 2018

काठमाडौं, मंसिर ५ । द्वन्द्वपीडितको पीडा घटेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताए ।

मंगलबार प्रेस चौतारी र प्रेस सेन्टर चितवनद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले द्वन्द्वपीडितको अवस्था विगतको भन्दा राम्रो भएको बताएका छन् ।

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुग्दा पनि द्वन्द्वपीडितको अवस्था जस्ताको त्यस्तै रहेको भन्ने प्रश्नमा उनले द्वन्द्व पीडितको पीडा उस्ताको उस्तै चाहिँ नभएको र पहिलाको भन्दा निकै कम भएको बताएका छन् । तै पनि अहिले अब हामी राजनीतिक तह र कानूनी तहमा पनि गम्भीर रुपले गृहकार्य गरिराखेका छौँ– उनले भने ।

अध्यक्ष दाहालले भने– प्रधानमन्त्री कै चाहनाको कुरा गर्ने हो भने संयुक्त राष्ट्रसंघ, कोस्टारीकामा जस्तो मन्तव्य दिनुभएको छ त्यसले शान्ति प्रक्रियाका बाँकी काम र पीडितलाई परिपूरणका कुरा या सत्य निरुपण र बेपत्ताका विषय आउने जेठ असारसम्म पूरै टुङ्ग्याउने किसिमले काम भइरहेको छ ।

अर्को फरक प्रसंगमा उनले भरतपुर विमानस्थलको विस्तारका लागि छलफल भइरहेको बताएका छन् । भरतपुर विमानस्थल विस्तारको काम अहिले छलफलमै रहेको उनको भनाइ छ ।