कभर स्टोरी

पार्टी र संगठनवाट निष्काशितहरुसँग सचेत रहन आग्रह

By Bala Adhikari

November 22, 2018

काठमाडौं, मंसिर ६ । पार्टी र संगठनवाट निष्काशितहरुसँग सचेत रहनका लागि क्रान्तिकारी पत्रकार संगठनले अनुरोध गरेको छ ।

साथै नेपालले यही मंसिर ८ गते हुन गईरहेको मातृ पार्टी नेपाल कम्युनिष्ट पार्टीको बृहत आमसभालाई सफल पार्नका लागि सहयोग गर्न आम जनसमुदायलाई अनुरोधसमेत गरेको छ । संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले आज एक प्रेस विज्ञप्ति जारी गर्दै काठमाण्डौंमा हुने बृहत आमसभालाई सफल बनाउनका लागि सहयोग गर्न सम्पूर्ण मिडियाकर्मी, नागरिक समाज, बुद्धीजीवि, अधिकारकर्मी लगायत आम जनसमूदायलाई अनुरोध गरेका हुन् ।

साथै संगठनले मातृ पार्टी र संगठनबाट कारवाहीमा परिसकेका व्यक्तिले पार्टी र संगठनको नाम भजाएर हिँडिरहेको भन्दै सचेत रहन सबैलाई अनुरोधसमेत गरेको छ । आस्था र विचारका हिसाबले नेपाल कम्युनिष्ट पार्टी निकट रहेको यस संगठनलाई बदनाम गर्न केही अराजक व्यक्तिहरु निरन्तर लागिरहेकाले सचेत रहन सबैलाई आग्रह गर्दछौं– विज्ञप्तिमा भनिएको छ ।

क्रान्तिकारी पत्रकार संगठनले बृहत आमसभाको प्रचार प्रसारका लागि मातृ पार्टीले नै प्रचार प्रसार उपसमिति गठन गरेर केन्द्रीय सदस्य चिरण पुन ‘मिलन’ को संयोजकत्वमा काम गरिरहेकोसमेत प्रस्ट पारेको छ ।

यसअघि पार्टी र सँगठनको कारवाहीमा परिसकेका र अहिले कुनै सम्पर्कमा नरहेका जन्मदेव जैसी, बाबुराम भुषाल लगायतले आफूलाई पार्टी निकट र संगठनको मान्छे भन्दै विभिन्न ठाँउमा पुगेको जानकारी आएपछि क्रान्तिकरी पत्रकार संगठन, नेपालले सबैलाई सचेत गराएको हो ।

विज्ञप्तिमा भनिएको छ– मिडियाहरुसँग सहकार्य गर्ने विषयमा उपसमितिले नै काम गरिरहेको अवस्थामा यस संगठनको नाम बेचेर केही व्यक्तिले भ्रम छर्ने प्रयास गरिरहेको भन्ने सूचना आएकाले सचेत रहन सबैलाई आग्रह गर्दछौं ।

प्रचार प्रसार तथा मिडियालाई औपचारिक आग्रह गर्नका लागि प्रचार प्रसार उपसमिति र क्रान्तिकारी पत्रकार संगठन नेपालका पदाधिकारीसहितका सदस्यहरु आफै क्रियाशील रहेको जानकारी गराउँदछौ ।