आर्थिक

हाम्रो विकासको ढाँचा भनेको सरकारी हाे : अर्थमन्त्री

By Bala Adhikari

November 23, 2018

काठमाडौँ, मङसिर ७ । समाजवादको लक्ष्य प्राप्ति गर्नका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रतिस्पर्धा नभई सहकार्य गरेर अघि बढ्नुपर्ने अर्थमन्त्री डा युवराज खतिवडाले आवश्यकता औंल्याए ।

राष्ट्रिय सहकारी महासंघले आज आयोजना गरेको सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश तथा स्थानीय तहको भूमिका विषयक प्रादेशिक गोष्ठीको उद्घाटन गर्दै उनले भने– हाम्रो विकासको ढाँचा भनेको सरकारी, सहकारी र निजी क्षेत्रको सहकार्य हो, प्रतिस्पर्धा होइन भन्ने पक्षलाई प्रदेश र स्थानीय तहले बुझन जरुरी छ ।

परिपूरक भूमिका निर्वाह गर्नुपर्ने हामी प्रतिस्पर्धात्मक भूमिकामा प्रवेश गर्छाैं, यो जरुरी छैन, संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य हो प्रतिस्पर्धा होइन, हामीले खोजेको सामाजिक न्यायपूर्ण समाज निर्माण गर्न समावेशीताभित्र समन्याय हो, त्यसका लागि सहकारी नमूना हुन सक्दछ ।

आधुनिक खेती प्रणाली र कृषि प्रणालीलाई जमीनको उपयोग गर्न सहकारीको मोडललाई अघि बढाउन सके सरकारले त्यसको उन्नयनका निम्ति आर्थिक सहयोग पुर्याउन तयार रहेको जनाउँदै उनले सहकारीमार्फत दूध, च्याउ, स्याउ, सुन्तलाजस्ता उत्पादनको प्रशोधन गर्ने कारखाना खोल्न प्रेरित गर्न प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सुझाएका छन् ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद वडालले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको सहकारीलाई गैरसरकारी संस्थाको रुपमा नलिन स्थानीय तहका जनप्रतिनिधिलाई सल्लाह दिए । प्रदेश नं– ३ का प्रदेशसभा सदस्य पशुपति चौलागाईंले मुलुकका ४० लाख मानिस सङ्गठित भएको सहकारीमा सबै धर्म, विचार, संस्कृति, उमेर समूह, समुदाय अटाएको उल्लेख गरे ।

नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा आवासीय प्रतिनिधि रिनाउड मेयरले गरीबी निवारण, कृषिको आधुनिकरण र विकास तथा खाद्य सुरक्षालगायत नेपालको आर्थिक र सामाजिक विकासको लागि महत्वपूर्ण माध्यमको रुपमा रहेको सहकारी क्षेत्रको विकास र विस्तारका लागि आफ्नो संस्थाले मद्दत पुर्याउँदै आएको जनाए ।

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्लले सहकारी क्षेत्रको विकासका लागि विकास र विस्तारका लागि युवा पंक्तिलाई यस क्षेत्रमा संलग्न गराउन खालका कार्यक्रम बनाउन स्थानीय तहका पदाधिकारीलाई सुझाए ।

राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले मुलुकमा सहकारी संस्थाको संख्या वृद्धि भएझैँ अब व्यावसायिक र गुणात्मक बनाउनुपर्ने आवश्यकता औंल्याए ।

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष मीनराज कँडेलले मुलुकको विकास र समृद्धिका लागि सरकारको सहयोगीको रुपमा रहेको सहकारीलाई व्यवस्थित बनाउने सन्दर्भमा सातै प्रदेशमा सहकारीसम्बन्धी ऐन बनाउने क्रम चलिरहेका त्यसका लागि आवश्यक सुझावको अपेक्षा गरिएको बताए ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मूल नारा तय गरी आयोजना गरिएको दुई दिने गोष्ठीमा प्रदेश नम्बर नं ३ मातहतका जिल्ला समन्वय समिति र स्थानीय तहका पदाधिकारीको सहभागिता छ ।