कभर स्टोरी

धर्मलाई निरपेक्ष वा सापेक्षताको आँखाले हेर्न नहुने : डा. कोइराला

By Bala Adhikari

November 23, 2018

काठमाडौं, मंसिर ७ । महामन्त्री कोइरालाले आफू हिन्दु धर्मको पक्षमा रहेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकलाई धर्म निरपेक्ष राष्ट्र बनाउने कि नबनाउने भन्ने विषयमा निर्णय लिन जनमत संग्रह गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार काठमाडौंमा गरिएको ‘शिव लीला’ भजन संग्रह उद्घाटन कार्यक्रममा बोल्दै उनले हिन्दु धर्मलाई सबैभन्दा उत्कृष्ट धर्मको रुपमा चित्रणसमेत गरे ।

हिन्दु धर्मले सबैलाई स्वतन्त्र बनाउने बताउँदै महामन्त्री कोइरालाले त्यस सम्बन्धमा जनताको सल्लाह लिन पनि जनमत संग्रहमा जानुको विकल्प नरहेको दाबी गरेका छन् ।

उनले हिन्दु धर्मले भगवान आफै भित्र खोज्न भनेको उल्लेख गरेका छन् । धर्मलाई निरपेक्ष वा सापेक्षताको आँखाले हेर्न नहुने उनको धारणा छ ।

संवैधानिक व्यवस्था अनुसार मुलुक धर्म निरपेक्ष राष्ट्र हो । तर त्यस सम्बन्धमा जनताले आफ्नो निर्णय लिन जनमत संग्रहमा जान उपयुक्त हुने कांग्रेस महामन्त्री कोइरालाको भनाइ छ । २०६२ र ०६३ को आन्दोलनपछि मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको थियो ।

आन्दोलनमा मुलुकलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्ने आवाज नउठे पनि विदेशी शक्तिको प्रभावमा परेर मुलुकलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको भन्दै सो निर्णयको विरोध हुँदै आएको छ ।

प्रमुख प्रतिपक्ष कांग्रेसभित्र पनि मुलुकलाई धर्म निरपेक्ष राष्ट्र बनाएको भन्दै प्रभावशाली नेताले विरोध जनाउँदै आएका छन् ।