जाजरकोट, मङ्सिर ९ । डोल्पाका स्थानीय तहमा शिक्षाका कर्मचारीको अभावले गर्दा काममा बाधा पुगेको छ । स्थानीय तहको निर्वाचन भएको डेढ वर्ष नाघिसक्दा पनि डोल्पाका स्थानीय तहको पूर्ण अधिकारभित्र पर्ने माध्यमिक शिक्षासम्म हेर्नुपर्ने स्थानीय तहमा शिक्षाका कर्मचारी नपठाइँदा शिक्षाका काममा निकै समस्या देखिएको हो ।
डेढ वर्षअघि गठन भएका स्थानीय तहमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाका कर्मचारीहरु नपठाउँदा शिक्षाका सम्पूर्ण काम लथालिङ्ग भएको ठूलीभेरी नगरपालिका जुफाल डोल्पाले बताएकोे छ ।
नेपालको संविधान, २०७२ ले माध्यमिक तहसम्मको शिक्षाको सम्पूर्ण जिम्मेवारी तथा अधिकार क्षेत्र स्थानीय तहको हुने सुनिश्चित गरेको छ । त्यस व्यवस्था बमोजिम स्थानीय तहभित्रका विद्यालयहरुको शैक्षिक, भौतिक तथा आर्थिक व्यवस्थाका लागि स्थानीय तहमा शिक्षाका कर्मचारी हुनुपर्ने अनिवार्य मानिन्छ ।
स्थानीय तहभित्र सबैभन्दा नभई नहुने र दीर्घकालीन प्रभाव पार्ने शिक्षा नै भएकाले शिक्षालाई प्रभावकारी बनाउन, शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि अपनाउनुपर्ने विभिन्न योजना निर्माण गर्ने र ती योजनाहरुको कार्यान्वयनका लागि कर्मचारीहरुको आवश्यकता पर्दछ ।
ठूलीभेरी नगरपालिका शिक्षा विभाग हेर्दै आएका विरमल भण्डारीले भने– कर्मचारी नभएपछि कसरी काम गर्ने के हामी जनप्रतिनिधिहरुले आफैँ गर्ने ? शिक्षाका कर्मचारीहरु नभएपछि स्थानीय तहलाई यही मङ्सिर महीनामा सञ्चालन गर्नुपर्ने स्थानीय तहस्तरीय कक्षा ८ को परीक्षा सञ्चालन गर्न र सबै विद्यालयमा सञ्चालन हुने अन्य कक्षाका परीक्षाको निरीक्षण तथा अनुगमनसमेत गर्न नसकिने अवस्था रहेको त्रिपुरासुन्दरी नगरपालिका डोल्पाको भनाइ छ ।
सरकारले व्यवस्था गरे अनुसार नगरपालिकामा एक उपसचिव, एक विद्यालय निरीक्षक, एक प्राविधिक सहायक र गाउँपालिकाहरुमा एक विद्यालय निरीक्षक र एक जना प्राविधिक सहायकको दरवन्दी रहने प्रावधान गरेको छ । तर सात वटा स्थानीय तहमा शिक्षाका कर्मचारी शून्य छन् भने शिक्षाका कर्मचारीका नाममा मुड्केचुला गाउँपालिकामा मात्र एक जना प्राविधिक सहायक रहेको शिक्षा विकास तथा समन्वय इकाई डोल्पाका प्रमुख सिंहराज डाँगीले जनाएका छन् ।
सम्बन्धित क्षेत्रका कर्मचारी नहुँदा भौतिक पूर्वाधार विकास, निरीक्षण अनुगमनलगायत अन्य काम गर्नु त कता हो कता शिक्षकहरुलाई तलब भत्ता खुवाउन र शिक्षाका कामहरु के के छन् भनेर जानकारीसम्म लिन नसकिएको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारसिंह रोकायले बताए । शिक्षाका थुप्रै कार्यक्रमहरु रहेका छन् ।
शिक्षा क्षेत्रका सम्पूर्ण काम बन्द छन् । कस्ले गरिदिने, शिक्षाका समस्या समाधानका कुरा त परै जाओस् कार्यक्रम कसरी अगाडि बढाउने भन्ने कुरा नै नमिलेको ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले बताए ।