कास्की, मङ्सिर ९ । आर्थिक परनिर्भरताले गर्दा महिलामाथि हिंसा वृद्धि भएको गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले बताएकी छिन् ।
महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले महिला आर्थिक रूपमा सवल र सक्षम नभएसम्म महिलामाथि हुने हिंसाको अन्त्य नहुने बताइन् ।
महिला आर्थिक रूपमा परनिर्भर भएकाले गर्दा विभिन्न शारीरिक र मानसिक हिंसाको चपेटामा परेका मन्त्री पुनको भनाइ छ । उनले महिलाहरुको आर्थिक सवलीकरणका लागि उनीहरुलाई व्यावसायिक तालीमको आवश्यकता औल्याइन् ।
उनले तालीमका लागि तालीम नभई जीवनस्तरमा परिवर्तन ल्याउने खालको तालीम सञ्चालन गर्ने तयारी भइहेको जनाएकी छिन् ।
मोबाइल एप्सबाट कस्तो तालीम आवश्यक भन्ने बारेमा सर्भे गरिरहेको उनले जानकारी गराएकी छिन् । उनले सामाजिक विकास मन्त्रालयमा रु चार करोड ३२ लाख स्वरोजगार कार्यक्रमका लागि बजेट रहेको जनाएकी छिन् ।