काठमाडौं, मंसिर ९ । उद्योगीहरुले सरकारलाई हेर्ने दृष्टिकोण ठिक नभएको उल्लेख गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले असन्तुष्टि जनाएका छन् ।
उनले उद्योगीहरुले सरकारको नीति, व्यवहार केही पनि ठिक नभएको भन्ने गरेकोमा आपत्ति जनाएका हुन् । आइतबार उद्योग दिवसको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै मन्त्री यादवले उद्योगीहरुलाई व्यापारी मानसिकतामात्रै बोकेर नहिँड्न पनि सचेत गराएका छन् ।
उद्योगीहरुले उद्योग स्थापनामा जोड नदिएर व्यापारी मानसिकता मात्रै राखेर ‘उल्टो बाटो’ लिएको मन्त्री यादवको आरोप छ । उनले स्वदेशी उद्योगमा जोड दिएर अघि बढ्न पनि उद्योगीहरुलाई अनुरोध गरेका छन् ।
व्यापारीहरुले देशको भन्दा पनि आफ्नो मुनाफामा मात्रै ध्यान दिएको उनको गुनासो छ । उद्योग संचालनका लागि आवश्यक वातावरण नबनेको भनेर उद्योगीहरुले अन्तर्राष्ट्रिय लगानी आउने वातावरण पनि बिगार्ने गरेको मन्त्री यादवको दावी छ ।
मन्त्री यादवले स्वदेशी बस्तुमा उत्पादनमा उद्योगीहरुले जोड दिए त्यसका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको दाबी गरेका छन् ।