कभर स्टोरी

१२ औँ महाधिवेशनको वातावरण बनाउन माग गर्दै नेविसंघद्वारा कांग्रेस कार्यालयमा धर्ना

By Bala Adhikari

November 25, 2018

काठमाडौँ, मङ्सिर ९ । १२ औँ महाधिवेशनको वातावरण बनाउनका लागि नेपाल विद्यार्थी संघले माग गरेको छ । ११ औँ महाधिवेशन सकिएको दुई वर्ष बितिसक्दा पनि १२ औं महाधिवेशनको वातावरण बन्न नसकेको भन्दै आज नेपाली कांग्रेस पार्टी कार्यालयमा नेतृत्वलाई दवाव दिँदै धर्ना बसेको हो ।

नेविसंघका नेता दीपक भट्टराईले पार्टीले नेविसंघसँग छलफल नगरी हचुवाको भरमा दुई महिना म्याद थप गरेर निर्वाचन टार्न खोजेको बताएका छन् ।

उनले भने दुई वर्ष तीन महिनामा पनि हुन नसकेको नेविसंघको १२ औँ महाधिवेशन अब दुई महिनामा हुन्छ भनेर कसरी पत्याउने, नेतृत्वको निर्वाचन नगर्ने खेल हो ।

महाधिवेशन सुनिश्चित गर्नुभन्दा पनि पार्टी नेतृत्वले बहुमतका आधारमा नेविसंघको विधान मिच्ने काम गरेकाले आफूहरू धर्नामा बसेको नेविसंघका नेता हिमालदत्त श्रेष्ठले जनाए ।

नेविसंघको विधानमा निर्वाचन भएको दुई वर्षभित्र अर्को निर्वाचन गरिसक्नुपर्ने अन्यथा विशेष परिस्थितिमा तीन महिना थप्न पाउने प्रावधान रहेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको मङ्सिर १ गते बसेको बैठकले नेविसंघको महाधिवेशनको समयावधि दुई महिना पछि सारेको हो ।

यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुने कांग्रेस महासमितिको बैठकमा छलफल हुने विधान मस्यौदाबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालयमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुरु भएको छ ।