सुर्खेत, मंसिर ११ । लागुऔषध दुर्व्यसनी मानव समाजको क्यान्सरको रुपमा रहेको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताएका छन् ।
आज प्रदेश राजधानी सुर्खेतमा प्रदेश प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशले आयोजना गरेको ‘लागुऔषध विरुद्धको जनचेतनामूलक’ समापन कार्यक्रममा बोल्दै उनले लागुऔषध दुव्र्यसनीले समाजमा भयानक रुप लिँदै गएकोमा चिन्ता व्यक्त गरे ।
उनले भने– लागुऔषध दुर्व्यसनी हामी सबैको साझा शत्रु हो, यसका विरुद्ध युद्धस्तरमा काम गर्नका लागि सबै जुट्नुपर्छ । मानव समाजको कलङ्कका रूपमा देखापरेको यो विकृति विरुद्ध अभियान चलाउने प्रदेश प्रहरी श्रीमती संघ, कर्णालीलाई धन्यवाद दिँदै कानूनमन्त्री भण्डारीले भने– कर्णाली प्रदेश सरकारले यो प्रदेशलाई लागुऔषध प्रयोगविहीन प्रदेश स्थापनाको लक्ष्य लिएर चालु आवमा रु दुई करोड ५० लाख बजेट विनियोजन गरेको छ, यो डरलाग्दो प्रवृत्तिका विरुद्ध तपाईं हामी ऐक्यबद्ध भएर लागौँ ।
कर्णाली प्रदेशमा सबैभन्दा बढी लागुऔषध दुर्व्यसनी र मदिराका घटना भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहको भनाइ छ ।
लागुऔषध र मदिरालगायत सबैखाले विकृति विरुद्धको अभियान शहरमा मात्र होइन, गाउँ बस्तीसम्म पुर्याउँछौं प्रहरी नायब महानिरीक्षक शाहले भने । प्रदेश प्रहरी श्रीमती संघका अध्यक्ष महिमा शाहले भोलिको होनाहार पुस्तालाई सही मार्गदर्शन गराउन लागुऔषध दुर्व्यसनी विरुद्धको जनचेतना अभियान शुरु गरिएको बताए ।
अध्यक्ष शाहले भने– हामीले यो अभियानबाट आध्यात्मिक, सांस्कृतिक, वैयक्तिक र सामाजिक परिवर्तन गर्ने लक्ष्य लिएका छौं, देशका सात प्रदेश गरेर हालसम्म चार हजार ३७६ जनालाई उपचार गरी पठाइसकेका छौँ ।
‘आसरा सुधार केन्द्र’ रानीबारी, काठमाडौँका परामर्शदाता लवज पुरीले प्रहरी श्रीमती संघसँगको सहकार्यमा कर्णाली प्रदेशका जुम्ला, कालीकोट, मुगु र सुर्खेत जिल्लाका विभिन्न विद्यालयगरी हालसम्म जम्मा तीन हजार ४१९ विद्यार्थीलाई लागुऔषध दुर्व्यसनीसम्बन्धी जनचेतना जगाइएको बताए ।
सो कार्यक्रममा दुर्व्यसनीका विरुद्ध राम्रो काम गर्ने जिल्ला प्रहरी कार्यालय जुम्ला, मुगु, कालीकोट, सुर्खेत, इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेत, प्रहरी तालीम केन्द्र सुर्खेत, प्रहरी नायव निरीक्षक मञ्जु चौधरीलाई प्रशंसापत्र र सवारी चालक शेरबहादुर महतो, लोकबहादुर महतो र महादेव गिरीलाई नगद पुरस्कार दिएका थिए ।