कभर स्टोरी

उपत्यकाको फोहोर संकलनका लागि ‘स्मार्ट डस्टबिन’ राख्न शुरु

By Bala Adhikari

November 27, 2018

काठमाडौँ, मंसिर ११ । काठमाडौँ उपत्यकाको फोहोर संकलनका लागि विभिन्न स्थानमा स्मार्ट डस्टबिन राख्न थालिएको छ ।

काठमाडौँ महानगरपालिकाको सहकार्यमा निजी कम्पनीले उपत्यकाको फोहोर संकलनका लागि ७० स्थानमा स्मार्ट डस्टबिन राख्न कार्य अगाडि बढाइएको हो ।

कृष्ण सप्लायर्स प्रालिले प्रतिवटा रु ६ लाख पर्ने फोहर सङ्कलन गर्ने आधुनिक भाँडो मानिसको अत्यधिक चाप हुने ठाउँहरुमा राख्न थालेको हो ।

आवश्यकता र माग दुई सय स्थानका लागि भए पनि पहिलो चरणमा काठमाडौँका बढी र ललितपुरका केही स्थानमा भाँडो राख्ने तयारी गरिएको छ । अहिले माइतीघर मण्डल, बिजुलीबजार, बानेश्वर, कोटेश्वर, गौशाला, चाबहिललगायत स्थानमा स्मार्ट डस्टबिन राखिसकिएको छ ।

आगामी एक हप्ताभित्रमा पहिलोचरणमा राख्ने भनेजति ७० वटै स्थानमा राखिसक्ने सप्लायर्सका निर्देशक शैलेश कुँवरले बताए । यस किसिमको भाँडो अत्याधुनिक छ उनले भने– यसले फोहर सङ्कलन मात्रै गर्दैन, रातको समयमा सडकमा हिँड्ने यात्रुलाई बत्तीमार्फत उज्यालो पनि दिन्छ भने यसबाट मोबाइल चार्जसमेत हुन्छ, यसले जानकारी लिनका लागि नक्सा निर्देशको काम पनि गर्दछ ।

चीनबाट ल्याइएको डस्टबिनको प्रभावकारिता हेरी दोस्रोचरणमा काठमाडौँ उपत्यकोका बाँकी स्थानमा र बाहिरी जिल्लाका मुख्य शहरमा पनि यसको प्रयोग विस्तार गरिने कुँवरले बताएका छन् । काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सधैँ समस्या भएकाले सानो सहयोग होस् भनेर यस्तो कार्य अगाडि बढाइएको कँुवरले बताए ।

पहिलो चरणमा ७० वटै स्थानमा राख्ने काम सकेपछि विद्यालयका बालबालिकालाई पनि यसबारे जानकारी दिन कार्यक्रम थालिने छ । कामपाका सार्वजनिक निजी साझेदारी एकाइ प्रमुख धु्रव काफ्लेले महानगरले नै गर्नुपर्ने काम निजी कम्पनीले चासो देखाएपछि काम थालिएको जनाए ।

अत्याधुनिक यस्ता डस्टबिनको आवश्यकता पनि थियो उनले भने– सडकमा यात्रा गरिरहेका नागरिकले अब जहातहीँ फोहर फाल्न पाउने छैनन्, आफूलाई पायक पर्ने स्थानका ती भाँडोमा फोहर राख्नुपर्नेछ र सहरलाई सफा राख्नेतर्फ ध्यान दिनुपर्छ ।

कुहिने र नकुहिने दुवै किसिमका फोहर राख्न मिल्ने ती भाँडोमा सङ्कलन भएको फोहर सम्बन्धित कम्पनीले प्रत्येक दिन टेकुमा लगेर व्यवस्थापन गर्नेछ ।