कभर स्टोरी

शिखर सम्मेलन पाकिस्तानमा गराउन भूमिका निभाई अध्यक्षता हस्तान्तरण गर्न नेपाल आतुर

By Bala Adhikari

December 02, 2018

काठमाडौँ, मंसिर १६ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९औँ शिखर सम्मेलन पाकिस्तानमा गराउन नेपालका तर्फबाट भूमिका निभाउनपे प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

प्रधानमन्त्री ओलीले ‘एशिया प्रशान्त शिखर सम्मेलन’ मा भाग लिन नेपालको भ्रमणमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीसँगको भेटवार्तामा सार्कको अध्यक्ष मुलुक भएको हिसाबले नेपाल पाकिस्तानमा शिखर सम्मेलन गराउन भूमिका निर्वाह गरी अध्यक्षता हस्तान्तरण गर्न आतुर रहेको जनाए ।

नेपालमा सन् २०१४ मा भएको १८ औँ शिखर सम्मेलनले २०१६ मा पाकिस्तानको इस्लामावादमा शिखर सम्मेलन गर्न तय गरे पनि पाकिस्तान र भारतको आपसी असमझदारीका कारण मिति तय हुन सकेको छैन ।

पाकिस्तानी पूर्वप्रधानमन्त्री गिलानीले पाकिस्तानी जनता र त्यहाँका राजनीतिक दल सार्कप्रति प्रतिबद्ध रहेको र सम्मेलनका लागि तयार रहेको जनाएपछि प्रधानमन्त्री ओलीले नेपाल पनि सार्कलाई प्रभावकारी रूपमा अगाडि बढाउन चाहेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले जानकारी गराए ।

सार्क मुलुकबीच आपसमा युद्ध र द्वन्द्व भन्दा पारस्परिक सम्बन्ध र लगानी विस्तार गर्नुपर्नेमा पनि उनीहरुको जोड थियो । भेटमा प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र मन्त्रालयका अधिकारीको पनि सहभागीता रहेको थियो ।