कभर स्टोरी

निषेधित क्षेत्रमा हर्न बजाउनेलाई कारबाही

By Bala Adhikari

December 04, 2018

लमही, मंसिर १८ । जथाभावी हर्न बजाउने सवारीचालकलाई ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले कारबाही गरेको छ । निषेधित क्षेत्रमा ठूलो स्वरमा हर्न बजाउने आइतबार ४५ चालक तथा सोमबार ४६ चालकलाई कारवाही गरिएको छ ।

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक विवेक महराले आइतबार र सोमबार हर्न बजाउने ९१ सवारीचालकलाई कारवाही गरेको जनाएका छन् ।

कारवाहीमा परेकाबाट जनही रु ५०० का दरले रु १६ हजार राजश्व सङ्कलन भएको महराले बताएका छन् । ती बाहेक अन्य सवारीचालकको कागजात जफत गरिएको छ ।

कारवाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् । हर्न निषेध अभियानलाई प्रभावकारी बनाउन प्रदेश प्रहरीले २०, इलाका प्रहरी कार्यालय तुलसीपुरले सात तथा ट्राफिक प्रहरी कार्यालयले १० जना प्रहरी परिचालन गरेको छ ।

पैदलयात्रुलाई छेउबाट हिँडाउनका लागि वीरेन्द्र चोकमा ट्राफिक कोण राखेर डोरी बाँधिएको छ ।