कभर स्टोरी

सरकारको कार्यशैलीप्रति सत्तारुढ दलका नेता नै असन्तुष्ट : सिंह

By Bala Adhikari

December 07, 2018

काठमाडौँ, मङ्सिर २१ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको कार्यशैलीबाट सत्तारुढ दलका नेताहरु भित्र नै चरम असन्तुष्टी रहेको र एक आपसमा मनमुटाब बढ्दै गएको बताएका छन् ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ८ का क्षेत्रीय सभापति एवं लोकतान्त्रिक नेवा खलः का केन्द्रीय कोषाध्यक्ष जुद्धरत्न बज्राचार्यको प्रथम वार्षिक स्मृतिसभाका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले गरेको काममा सत्तारुढ दलका नेतामा समेत असन्तुष्टी बढेको बताएका छन् ।

सरकार काम गर्न भन्दा कुरा गर्नमा बढि व्यस्त भएको टिप्पणि गर्दै उनले भने, काम गर्न नसकेर सरकारले वुद्धिजीवीहरूलाई समेत धम्काउने काम गरेको छ । सरकार जस्तो संसद्मा प्रतिपक्षी पार्टी नेपाली कांग्रेस पनि त्यस्तै भएका कारण मुलुकले विकासको गति लिन नसकेको उनले बताए ।

प्रतिपक्षको उचित भूमिका निर्वाह गर्न सङ्गठित हुनु जरुरी रहेको बताउँदै उनले भने, काठमाडौँमा कांग्रेसलाई बलियो बनाउन सबैको जिम्मेवारी बराबर रहन्छ । उनले स्वर्गीय बज्राचार्य पार्टीका लागि कुशल सङ्गठक भएको प्रष्ट पारे ।

कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय बज्राचार्यको महत्वपूर्ण भूमिका रहेको जानकारी गराए । बज्राचार्यले दुईपटक वडाअध्यक्ष भएर काठमाडौँको विकासमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उनले भने, बज्राचार्यको कार्यशैलीबाट कांग्रेसले पाठ सिक्नुपछ ।

काठमाडौँ कांग्रेस सभापति सबुज बानियाँले काठमाडौँको कांग्रेसकोे सङ्गठन निर्माणमा स्वर्गीय बज्राचार्यको महत्वपूर्णको चर्चा गरे । विसं २०११ चैत ११ गते काठमाडौँमा जन्मिएका बज्राचार्यको मस्तिष्कघातबाट विसं २०७४ मङ्सिर १ गते ६३ वर्षको उमेरमा निधन भएको थियो ।