आर्थिक

लाभग्राहीलाई तेस्रो किस्ता दिन शुरु

By Bala Adhikari

December 09, 2018

पर्वत, मंसिर २३ । भूकम्पले क्षति पुर्याएप्छि पुनः निर्माण गरिएका घरका लाभग्राहीलाई तेस्रो किस्ता दिन थालिएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहबाट घर सम्पन्न गरी तेस्रो किस्ता माग गर्ने लाभग्राहीको निवेदन आउन शुरु भएपछि अन्तिम किस्ता वितरण गरिएको हो ।

पर्वतमा अहिलेसम्म १६ जनाले मात्रै तेस्रो किस्ताबापतको रकम प्राप्त गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले सबैलाई अन्तिम किस्ता भुक्तानी गर्न शुरु गरेको बताएको छ ।

भूकम्पबाट पूर्ण क्षति पुगेका जिल्लाका पाँच हजार २६९ घरमध्ये हालसम्म एक हजार ५८० घर मात्र निर्माण भएका छन् । घर निर्माणाधिन अवस्थामा रहेका र निर्माण गरिसकेका एक हजार पाँच ८० लाभग्राहीले अहिलेसम्म दोस्रो किस्ताको रकमसमेत बुझिसकेका छन् ।

तीमध्ये १६ जनाले मात्र तेस्रो किस्ता बुझेको प्रमुख जगदीश शर्माले बताएका छन् । पहिलो किस्ताको रकम लगेका चार हजार आठ सय ३२ जनामध्ये तीन हजार २५२ जनाले घर निर्माण गर्न नै थालिएको छैन ।

४३७ जनाले पहिलो किस्ताको रकमसमेत बुझेका छैैनन् । पहिलो किस्ता बापतको रकम रु २४ करोड १६ लाख लाभग्राहीलाई भुक्तानी गरिसकिएको छ ।

दोस्रो किस्ताबापतको रकम रु २३ करोड ७० घर बनाएकाले भुक्तानी लगिसकेको छन् भने तेस्रो किस्ताबापत रु १६ लाख पनि लाभग्राहीलाई वितरण गरिसकिएको कार्यालयले बताएको छ ।

हालसम्म पूर्ण क्षतिमा परेर घर निर्माण गर्नेका लागि मात्र रु ४८ करोड दुई लाख भुक्तानी गरिसकिएको आयोजनाकोे भनाइ छ । अहिलेसम्म पनि घर बनाउन नथालेका घर बनाउन नचाहेकालाई पहिलो किस्ताबापत लगेको रकम फिर्ता गर्न ताकेता गरिएको शर्माले बताए ।

घर बनाउन नचाहानेका लागि सार्वजनिक सूचना जारी गरेरै रकम फिर्ता गर्न ताकेता गरेका छौ– उनले भने । आगामी वैशाख सम्म रकम फिर्ता नगर्नेका लागि सरकारी बाँकी सरह असुल उपर गरिने शर्माको भनाइ छ ।

पीडित लाभग्राहीलाई अझैपनि तोकिएको मापदण्ड अनुसार घर निर्माण गरेर दोस्रो, तेस्रो किस्ताका लागि माग गर्न अनुरोध गरिएको छ ।

कतिपयले पूर्ण क्षतिमा परेको भए पनि पुरानै घरलाई टालटुल पारेर बसिरहेकोसमेत पाइएको छ । त्यस्तै आंशिक क्षतिमा परेका ११३ जनाले रु एक लाख लिइसकेको पनि कार्यालयले बताएको छ ।