कृषि

सुन्तलाले बजार लिन सकन्दा किसान मर्कामा

By Bala Adhikari

December 09, 2018

डोटी, मंसिर २३ । गत बर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको भए पनि बजार लिन नसक्दा किसानहरु चिन्तित भएका छन् ।

वर्षभरिको मिहिनेतलाई भुलाउने गरी सुन्तला फलेको भए पनि दुःख गरेर लगाएको सुन्तलाले समयमा बजार पाउन नसक्दा किसानहरु चिन्तित बनेका हुन् । आफुले गरेको दुःखको फल राम्रोसँग नपाउँदा आफूहरु चिन्तामा परेको निरौलीका सुन्तला किसान हर्क साउदले बताए ।

एक दशकदेखि सुुन्तला खेती गर्दै आएका यहाँका किसान साउदले यस वर्ष सुन्तला उत्पादन बढेको भए पनि बजार अभावका कारण किसान चिन्तित बनेका हुन् उनले भने– आश गरेकोभन्दा बढी सुन्तला फलेका छन् तर बजार पाउन मुस्किल छ, उत्पादन गरेर के गर्नु आम्दानी हुने समयमा बजार लिन सकिँदैन र मेहनत अनुसारको मूल्य पनि पाउन सकिन्न ।

साउदले मात्रै करीब तीन रोपनी जमीनमा सुन्तला खेती गरेका छन् । बजारमा अझै पनि सुन्तलाको भाउ आइनसकेको र आफूहरु बजारकै खोजीमा रहेको उनले बताए । सुन्तला, मौसमी, जुनार, कागतीलगायत अमिलो जातका फलफूलको खेती गर्दै आएका साउदले वर्षमा करीब एक–डेढ लाख रुपैयाँ जति आम्दानी गर्छन् ।

सुन्तलाको फल लागेर पाक्ने बेलामा परेको असिना पानीले क्षति पुर्याए पनि यस वर्ष डोटीका ग्रामीण क्षेत्रमा सुन्तला भने राम्रै उत्पादन भएको स्थानीय किसानको भनाइ छ ।

बजार व्यवस्थापन र शीत भण्डारको अभावका कारणले पनि यहाँका सुन्तला उत्पादक किसान मर्कामा परेका छन् । गएका वर्षहरुमा यहाँका किसानका बारीमा सुन्तला किन्नेहरु आउने भए पनि यो वर्ष बढी सुन्तला उत्पादन भएकाले कोही नआएको गड्सेराका अर्का सुन्तला किसान लीलाधर बिष्टले बताए ।

विगतका वर्षमा सुन्तला व्यापारीले बारीमै मूल्य निर्धारण गर्थे, यो वर्ष सुन्तला जताततै फलेकाले अहिलेसम्म कोही आएका छैनन् उनले भने ।

जिल्लाको बोगटान, जोरायल, गड्सेरा, मन्नाकापडी, बर्छैन, कपल्लेकी, मुडभारालगायत ठाउँमा सबैभन्दा बढी सुन्तला खेती गरिन्छ ।