विराटनगर, मङ्सिर २८ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको ढाँचा अनुसार पार्टीको विधान संशोधन हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकर सम्मेलनमा बोल्दै उनले संविधान बमोजिम पार्टीको विधान र संरचना तयार भएमा पार्टीले गति लिने जानकारी गराए । कांग्रेस महासमिति बैठक पार्टीमा ऊर्जा दिन र विधानलाई समावेशी चरित्रको बनाउने गरी व्यापक छलफल हुने बताउँदै उनले भने अगामी महाधिवेशनमा पार्टीको नेतृत्व परिवर्तन हुने पक्का छ ।
नेता सिंहले सरकारमा कांग्रेसले प्रतिपक्षको भूमिकालाई सशक्त पार्न नसके पनि जनताका विषयमा निरन्तर आवाज उठाइरहेको प्रष्ट पारे । सरकारले जनताले दिएको अवसर पूर्ण सदुपयोग गर्नु पर्ने उनको धारणा छ ।
जनताले अनुभूति गर्न सक्ने किसिमको महङ्गी नियन्त्रण, शान्ति सुरक्षा र विकासमा सरकारले विशेष ध्यान दिन उनले सुझाव दिएका छन् । उनले सरकारको अनुभूति जनतालाई नभएको समेत बताए ।