कभर स्टोरी

कांग्रेस विधान मस्यौदा पारितका लागि सहमतिको प्रयास

By Bala Adhikari

December 17, 2018

काठमाडौँ, पुस २ । पार्टीको विधान मस्यौदालाई पारित गर्नका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ ।

केन्द्रीय कार्यसमिति बैठक बस्ने भएपछि आज बिहान प्रारम्भ भएको कांग्रेस महासमिति बैठक केही समयका लागि रोकिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

कांग्रेसले संघीयता अनुसार पार्टीको विधानलाई परिमार्जन गर्न तयार गरेको विधान मस्यौदा प्रतिवेदनमा शीर्ष नेताबीच सहमतिको प्रयास भइरहेको छ । केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टी पदाधिकारी बैठक जारी रहेको केन्द्रीय सदस्य रामकृष्ण यादवले बताए ।

पदाधिकारी बैठकमा सहमति पश्चात् विधान मस्यौदाको प्रतिवेदन केन्द्रीय समितिबाट पारित गराई आजै महामन्त्री एवं विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले महासमिति बैठकमा पेश गर्नेछन् । विधान मस्यौदामा पदाधिकारी संख्या र पदाधिकारीको चयन प्रक्रियाबारे कांग्रेसमा छलफल भइरहेको छ ।

संस्थापन पक्ष पदाधिकारी संख्या वृद्धि गर्नु नहुने र वृद्धि गरे पनि सभापति, एक महामन्त्री र एक कोषाध्यक्षबाहेक अन्य पदाधिकारी सभापतिबाट मनोनयन हुनुपर्ने पक्षमा छ ।

संस्थापन इतर पक्ष भने केन्द्रीय कार्यसमितिको संख्या वृद्धि गराएसँगै पदाधिकारी संख्या पनि वृद्धि गर्नुपर्ने र सबै निर्वाचित हुनुपर्ने अडानमा छ । विधान मस्यौदामा १४१ सदस्यीय केन्द्रीय समिति बनाउने लगभग सहमति भइसकेको छ ।

महासमिति बैठकमा अन्य विभिन्न चार विषयका प्रस्तावमाथि महासमिति सदस्यले आ–आफ्ना विचार प्रस्तुत गरेका छन् । शुक्रबारबाट भएको महासमिति बैठकको बन्दसत्रमा राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रस्तावमाथि छलफल जारी छ ।

शनिबार उद्घाटनपछि बन्दसत्र शुरु भएको हो । ती प्रस्तावमध्ये राजनीतिक प्रस्ताव उपसभापति विमलेन्द्र निधिले शनिबार बैठकमा पेश गरेका थिए ।

अन्य तीन प्रस्ताव क्रमशः महामन्त्री डा शशाङ्क कोइराला, सहमहामन्त्री डा प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादवले आइतबार प्रस्तुत गरेका हुन् ।

‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान, उज्यालो भविष्य’ नाराका साथ थालिएको महासमिति बैठक पुस ३ गतेसम्म चल्नेछ ।

बैठकमा संसदीय निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ७०० प्रतिनिधि सहभागी रहेको प्रवक्ता शर्माको भनाइ छ ।

पार्टीको महाधिवेशनपछिको सर्वोच्च निकाय महासमिति बैठक भएकाले यसले पार्टीको नीतिगत सुधार र पार्टीलाई नयाँ ऊर्जावान् बनाउने कांग्रे्रसजनले अपेक्षा राखेका छन् ।