कभर स्टोरी

यस बर्ष नेपालमा अपेक्षा गरेभन्दा बढी पर्यटकको आगमन

By Bala Adhikari

December 17, 2018

पर्वत, पुस २ । नेपालमा एकै वर्षमा अपेक्षा गरेको भन्दा बढी पर्यटक भित्रिएपछि त्यसको खुशीयाली मनाउँदै गण्डकी प्रदेश सरकारले केक काटेको छ ।

डिसेम्बर महीनाको गणना नगर्दै नेपालमा सबैभन्दा बढी अथवा १० लाखभन्दा बढी पर्यटक भित्रिएको भन्दै आइतबार आयोजना गरिएको खुसीयाली उत्सवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले केक काटेर उद्घाटन गरे ।

यस बर्ष १० लाख एक हजार ३०० बाह्य पर्यटक भित्रिएका छन् भने यसअघि सबैभन्दा बढी सन् २०१५ मा आठ लाख ६० हजार पर्यटक भित्रिएको पाइएको छ ।

उक्त अवसरमा मन्त्री लम्सालले गत वर्षभन्दा पर्यटक आगमनको दर ३० प्रतिशतले वृद्धि भएको भन्दै पर्यटन क्षेत्रबाटै पर्यटनको समृद्धि हुने बताए ।

मन्त्री लम्सालले गण्डकी प्रदेशले सन् २०२२ लाई पर्यटन वर्षका रूपमा मनाउन लागेको बताउँदै उक्त समयसम्म वार्षिक २० लाख पर्यटकको संख्या टाउकै गनेर देखाउने प्रतिबद्धता जनाएका छन् ।

बढ्दो पर्यटकको आगमनलाई मध्यनजर गर्दै पर्यटन पूर्वाधार निर्माण गर्न शुरु गरिएको उनले बताए । त्यसका लागि प्रदेश सरकारले ११ वटै जिल्लामा रहेका पर्यटकीयस्थललाई प्राथमिकतामा राखेर पूर्वाधार बनाउनका लागि बजेट विनियोजन गरेको उनले जनाएका छन् ।