काठमाडौँ, पुस ५ । तीनवटा ओपिसी सिमेन्ट उद्योगबाट उत्पादित भएको सिमेन्टमा बढी मात्रामा म्याग्नेसियम भएको पाइएको छ ।
गुणस्तर तथा नापतौल विभागद्वारा गरिएको परीक्षणमा होङ्सी सिमेन्ट उद्योग (नवलपरासी), अर्घाखाँची सिमेन्ट उद्योग (रुपन्देही) र शुभश्री जगदम्बा सिमेन्ट उद्योग (बारा)बाट उत्पादित हुने सिमेन्टमा अधिकतम मात्रामा म्याग्नेसियम भएको पाइएको हो ।
अधिकतम पाँच प्रतिशतसम्म म्याग्नेसियम हुनुपर्नेमा नापजाँचका क्रममा त्योभन्दा बढी देखिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।
पाँच प्रतिशतभन्दा बढी म्याग्नेसियम भएको सिमेन्ट गुणस्तर मानिँदैन । म्याग्नेसियम बढी भएका सिमेन्ट उद्योगलाई विभागले कम म्याग्नेसियम भएको सिमेन्ट उत्पादन गर्न पत्राचारसमेत गरेको छ ।
विभागले कम म्याग्नेसियम उत्पादन नगर्ने सिमेन्ट उद्योगको इजाजतपत्र खारेज गर्ने बताएको छ ।