कभर स्टोरी

यस बर्षदेखि एसइई परीक्षा प्रदेश सरकारले सञ्चालन गर्ने

By Bala Adhikari

December 20, 2018

काठमाडौँ, पुस ५ । माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा–१० को सञ्चालन यस वर्षदेखि प्रदेश सरकारले गर्ने भएको छ ।

प्रदेश तहलाई पहिलोपटक एसइई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयले परीक्षा सञ्चालन गर्ने उनको भनाइ छ ।

उनले भने– हामीले यहाँबाट प्रश्नपत्र मात्र पठाउँछौँ उत्तरपुस्तिकाको छपाइदेखि परीक्षा केन्द्र तोक्ने, केन्द्राध्यक्ष तोक्नेजस्ता काम प्रदेश सरकारले नै गर्ने छ । परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको तोकिएको परीक्षा केन्द्र नबढाइ तोक्न निर्देशन दिएको छ ।

यसअघि नियन्त्रण कार्यालयले परीक्षा सञ्चालन गर्ने गर्दथ्यो । प्रदेश सरकारले सञ्चालन गरेको उत्तरपुस्तिका भने नियन्त्रण कार्यालयमा आउने र समपरीक्षण तथा नतिजा प्रकाशन गर्ने छ ।

सरकारले यस वर्षदेखि एसइई प्रदेशस्तरमा नै गर्ने भने पनि आवश्यक तयारी नपुगेकाले नियन्त्रण कार्यालयलाई जिम्मा लगाएको हो । यस वर्षको एसइई परीक्षा चैत १० गतेबाट हुँदैछ ।

परीक्षामा करीब चार लाख ८० हजार विद्यार्थी सहभागी हुँदैछन् । अहिले प्रश्नपत्रको काम भइरहेको उनले जनाएका छन् ।