कभर स्टोरी

पुस १० गते सार्वजनिक बिदा गर्नुपर्ने माग गर्दै र्याली

By Bala Adhikari

December 23, 2018

काठमाडौँ, पुस ८ । राष्ट्रिय ख्रीष्टियन महासंघले यही पुस १० गते अर्थात् डिसेम्बर २५ (क्रिसमस) मा सार्वजनिक बिदाको माग गर्दै आज बिजुली बजारदेखि मोटरसाइकल र्याली निकालेको छ ।

बिजुली बजारदेखि शुरु भएको सो र्याली माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क, जमल, दरबारमार्ग, कमलपोखरी, पुतलीसडक हुँदै भृकुटीमण्डपमा आएर सकिएको हो । मानवअधिकारकर्मी कपिल श्रेष्ठले र्यालीको शुभारम्भ गर्दै मुलुकमा बहुभाषा, बहुधर्म प्रचलनमा रहेको हुँदा सबैको सह–अस्तित्वलाई कायम राख्नुपर्ने बताए ।

उनले नेपालले विश्वव्यापी मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गरिसकेकाले सबै धर्मावलम्बीलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिए ।

महासंघका अध्यक्ष सिबी गहतराजले सो समुदायको ठूलो पर्व क्रिसमस भएको हुँदा त्यसको प्रचारप्रसारका लागि र्यालीगरिएको जनाएका छन् ।

उनले सरकारले वर्षमा एक दिन सो समुदायलाई सार्वजनिक बिदा दिनुपर्ने माग गरे । दोस्रो जनआन्दोलनपछि नौ वर्षसम्म सार्वजनिक बिदा दिँदै आएकोमा गत वर्षदेखि बिदा कटौती गरिएको महासंघले बताएको छ ।

देशमा करीब १२ हजार चर्च तथा २५ लाख अनुयायी रहेको जनाइएको छ । सरकारसँग भएको छ बुँदे सहमतिलाई तत्काल कार्यान्वयन गर्नुपर्नेलगायत मागसमेत महासंघले अगाडि सारेको छ ।

सो र्यालीमा करीब ४०० जनाले सहभागिता जनाएका थिए ।