कभर स्टोरी

विकास र समृद्धिमा प्रत्यक्ष पहुँच बढाउन राष्ट्रिय परिचयपत्रले मद्दत गर्ने : मुख्यमन्त्री राई

By Bala Adhikari

December 23, 2018

विराटनगर, पुस ८ । राष्ट्रिय परिचयपत्रले नागरिकको पहिचान र परिचय खुलाउने भएकाले यसबाट राष्ट्रलाई फाइदा पुग्ने प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।

आज राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी प्रस्तुतीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले आम नागरिकले खोजेको सुशासन र शान्ति दिन परिचयपत्रले सकारलाई मद्दत पुग्ने धारणा प्रस्तुत गरे ।

विकास र समृद्धिमा प्रत्यक्ष पहुँच वृद्धि गराउन राष्ट्रिय परिचयपत्रले सहयोग गर्ने भन्दै उनले मुलुकमा अपराध र भ्रष्टाचारमुक्त गर्न परिचयपत्रले थप टेवा पुर्याउने बताए ।

प्रविधिको उच्चतम प्रयोग र डिजिटल नेपाल बनाउन यो कार्यले अझ मद्दत हुने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री राईले यो अभियानमा जुटेका निकायले समयमै आफ्ना काम पूरा गर्न निर्देशन पनि दिए ।

प्रदेश नं १ का मुख्यसचिव केदार न्यौपानेले सरकारले लिएको लक्ष्य पूरा गर्न परिचयपत्र वितरणमा खटिने कर्मचारीले अहोरात्र काम गर्नुपर्ने बताए ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका महानिर्देशक दीपक काफ्ले र मोरङका प्रजिअ रमेशकुमार केसीले यस किसिमको प्रणालीबाट दोहोरो सेवा लिने र अपराध गर्ने मनोवृत्तिका मानिसलाई कठिनाइ हुने विचार व्यक्त गरे ।

नेपाल सरकारले आव २०६६/६७ मा राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य अनुरुप आव २०७४/७५ मा पूर्वी नेपालको पाँचथरमा एक लाख १० नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरेको छ ।

चालू आवमा प्रदेश नं १ अन्तर्गत झापामा चार लाख ८९ हजार १३४ र सङ्खुवासभा जिल्लामा ९५ हजार ५४७ जनालाई सो परिचयपत्र वितरण गर्ने लक्ष्य राखेको छ ।

राष्ट्रिय परिचयपत्रको व्यवस्थापनबाट सूचना प्रणालीमा सजिलो हुने, गुणस्तरीय सार्वजनिक सेवा प्रदान गर्न सकिने, सेवामा पारदर्शी हुने, सबै प्रकारका सेवामा नागरिकको पहुँच पुग्ने र राष्ट्रिय तथ्याङ्कको अध्यावधिक हुनेजस्ता फाइदा राज्यलाई पुग्ने महानिर्देशक काफ्लेको भनाइ छ ।