कभर स्टोरी

समाजलाई सभ्य बनाउने समाचार प्रकाशन गरिनुपर्ने : मुख्यमन्त्री शाही

By Bala Adhikari

December 25, 2018

सुर्खेत, पुस १० । पत्रकारका लागि कर्णालीमा बहुउपयोगी तालीम केन्द्र खोलिने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको समन्वय तथा राष्ट्रिय समाचार समिति कर्णाली प्रदेश कार्यालयद्वारा संचालित कर्णाली प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षणको वीरेन्द्रनगरमा समापन गर्दै उनले अब कर्णाली प्रदेशमा राससको आफ्नै कार्यालय भवन बनाइने जनाए ।

मुख्यमन्त्री शाहीले पत्रकारिता क्षेत्रको विकासका लागि कर्णाली प्रदेश सरकार रासससँग समन्वय र सहकार्य गरी अगाडि बढ्ने बताए ।

सरकारी सञ्चारमाध्यम र राससको समयानुकूल विकास गर्न कर्णाली प्रदेश सरकारले विशेष प्राथमिकता दिने उनको भनाइ छ । पत्रकारितामा समाजलाई सभ्य र जीवन बनाउने खालका समाचार वा काममा लाग्नुपर्नेमा उनले जोड दिए ।

मुख्यमन्त्री शाहीले कर्णाली स्वर्ग हो र यहाँ नजाँदा जीवन अधुरो हुन्छ भन्ने कुरा बुझाउन तथा यहाँको समृद्धिका लागि सञ्चारमाध्यम लागिपर्नुपर्ने आवश्यक औंल्याए ।

उक्त प्रशिक्षणमा कर्णाली प्रदेशका हुम्ला, जुम्ला, डोल्पा, कालीकोट, मुगु, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र दैलेखका रासस, दैनिक पत्रिका, अनलाइन, रेडियो र टिभीका गरी जम्मा ४४ जना पत्रकारले सहभागीता जनाएका थिए ।