कभर स्टोरी

सम्पूर्ण जनताको आस्थालाई सम्मान गर्नुपर्ने : अध्यक्ष दाहाल

By Bala Adhikari

December 25, 2018

चितवन, पुस १० । सबै धर्मप्रति आस्था राख्ने जनतालाई राज्यले समान व्यवहार गर्नुपर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी चितवनद्वारा आज पार्टी नेता सूर्य पथिक र विश्वप्रकाश सुवेदीका आमा धनकुमारी सुवेदीको १२औँं दिनको पुण्य तिथिमा आयोजित शोकसभामा बोल्दै संविधान निर्माण गर्दा धार्मिक स्वतन्त्रतालाई सम्मान गर्ने कुरा गरेको बताएका हुन् ।

राज्यले कुनै धर्म विशेषलाई प्राथमिकता दिएर कुनैलाई निषेध गर्ने नीति लिनु नहुने भन्दै उनले भने– कम्युनिष्ट पार्टीका नेता पुष्पलालको कुरा गरौं या नेपाली कांग्रेसका बिपीको उनीहरु संस्कार विरुद्ध, एउटा वैज्ञानिक मान्यता, अन्धविश्वासका निमित्त वैज्ञानिक धारणा स्थापित गर्नका लागि लागिरहे ।

अध्यक्ष दाहालले जनताको आस्थालाई अपमान गर्ने कसैको पनि मान्यता नभएको भन्दै जनताको आस्थालाई सम्मान गर्नुपर्नेमा जोड दिए । तर राज्य ती विविध आस्थाप्रति निरपेक्ष रहनुपर्दछ उनले भने– राज्यले भेदभाव गर्नु हुँदैन भन्ने लोकतन्त्रको आधारभूत कुरा हो ।

शिक्षा, स्वास्थ्य र रोजगारीलाई जनताको मौलिक अधिकारको रुपमा संविधानमा परिभाषित भएको भन्दै अध्यक्ष दाहालले भने– तर पनि हामीले विकट ठाउँमा उपचारको अभावमा सामान्य भन्दा सामान्य उपचार पनि नपाएर मृत्युवरण गर्नुपर्ने परिघटना अहिले पनि कायमै छ ।

सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले समाजमा बुढेसकालका मानिसको व्यवस्थापन चुनौती बन्दै गएको बताए ।

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेता पथिक, ईश्वरी भट्टराई र कृष्ण खनाल लगायतले आ–आफ्ना विचार राखेका थिए ।