आर्थिक

७५३ सम्पदामा २०१ सम्पदा पुनःनिर्माण सम्पन्न

By Bala Adhikari

December 26, 2018

काठमाडौँ, पुस ११ । भूकम्पले भत्किएकामध्ये २०१ पुरातात्विक एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जानकारी गराएको छ । भूकम्प अतिप्रभावित १४ जिल्लामा ७५३ सम्पदामा क्षति पुगेको थियो । हाल ३०९ सम्पदाको पुनःनिर्माण भइरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताएका छन् ।

गोरखामा भूकम्प गएको साढे तीन वर्ष बिति सक्दा पनि २४३ सम्पदाको काम शुरु हुन सकिरहेको छैन । रानीपोखरी र बालगोपालेश्वरको काम अझै शुरु हुनसकेको छैन । हालसम्म २७ प्रतिशत सम्पदा पुनःनिर्माण सम्पन्न भएकामा चालु आर्थिक वर्षको अन्त्यसम्ममा ५० प्रतिशतको कामसक्ने प्राधिकरणको लक्ष्य छ ।

आर्थिक वर्ष २०७६÷७७ मा ७५ प्रतिशत सम्पदा बनाइसक्ने कार्ययोजना बनाइएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताएका छन् । आर्थिक वर्ष २०७७÷७८ को पहिलो चौमासिकमा भूकम्पले क्षति पु¥याएका सबै सम्पदा पुनःनिर्माण गरिसक्ने प्राधिकरणले लक्ष्य लिएको छ ।

कम प्रभावित १८ जिल्लाका ८४५ सम्पदामा क्षति पुगेको प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले बताए । ३२ वटै जिल्लाको गरी एक हजार ५९८ सम्पदा पुनःनिर्माण गर्नुपर्ने जानकारी गराइएको छ । यसमध्ये पूर्ण रुपमा क्षति भएका सम्पदा १३३ भएको अधिकृत बाँस्कोटाले बताएका छन् । त्यस्तै भूकम्पले क्षति पुगेका ८९५ गुम्बा पुनःनिर्माण गर्नुपर्ने भए पनि अहिले सम्म कुनै काम हुन सकेको छैन ।

मर्मत गर्नुपर्ने गुम्बाको संख्या ४०२ छ । अहिलेसम्म कुनै पनि गुम्बाको पुनःनिर्माण नभएको प्राधिकरणले जानकारी गराएको छ । कार्यविधिमा भएको अस्पष्टताले गुम्बा पुनःनिर्माणमा ढिलाइ भएको बताइएको छ । दुई हजार वर्गफिटभन्दा बढी क्षेत्रफल भएका र १०० वर्षभन्दा पुराना गुम्बा प्राधिकरणले नै बनाउने योजना बनाएको छ ।

१०० वर्षभन्दा कमका गुम्बा पुनःनिर्माणका लागि प्राधिकरणले स्थानीय तहलाई ५० प्रतिशत बजेट दिने जानकारी गराएको छ । बाँकी लागत स्थानीय तह र स्थानीय गुम्बा विकास तथा व्यवस्थापन समितिले व्यहोर्नुपर्ने बताइएको छ । भूकम्पले भत्किएका गुम्बाको पुनःनिर्माणका लागि रु पाँच अर्ब ८५ करोड लाग्ने प्रारम्भिक अनुमान प्राधिकरणले गरेको छ ।