काठमाडौं, पौष १७ । सार्वजनिक बसको भाढा वृद्धि भएसँगै नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटर भाडा समायोजनको काम शुरु गरेको छ ।
विभागले गत असोज ७ गते सार्वजनिक बसको भाडा बढाएपछि ट्याक्सीमा पनि १० प्रतिशत भाडा वृद्धि गराउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो ।
हालसम्म २ हजार २ सय ट्याक्सीमा नयाँ भाडा समायोजन गरिसकिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । ‘मिटर र प्रिन्टर मेसिन ठीक छ वा छैन हेरेर मिटरमा भाडा समायोजनका काम अगाडि बढाएका छौँ’, उनले भने ।
विभागले दैनिक ८० देखि १ सय ट्याक्सीको भाडा समायोजन गर्दै आएको छ । पहिला ट्याक्सी चलाउन थालेपछि एक किलोमिटर गुड्दा ५० रुपैयाँ उठ्ने गरेकामा नयाँ भाडा समायोजन गरेपछि एक किलोमिटर यात्रा गर्दा ५३ रुपैयाँ उठ्छ । यसअघि विभागले उपत्यकामा गुड्ने सबै ट्याक्सीमा प्रिन्टर मेसिनसमेत जडान गरिसकेको छ ।
नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतमले ट्याक्सीमा भाडा समायोजन गरेसँगै ट्याक्सी व्यवसायीलाई थोरै भए पनि राहत हुने धारणा राखे । उनले भने– समायोजन गरेको भाडा वैज्ञानिक भाडा होइन, भाडा बढाउने विषयमा संघले सम्बन्धित निकायको ध्यानाकर्षण गरिरहेको छ ।
यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र १० हजार ६ सय मिटर ट्याक्सी सञ्चालित छन् ।