कभर स्टोरी

सङ्गीतकार जङ्गमलाई नारायण गोपाल युवा सङ्गीत पुरस्कार दिइने

By Bala Adhikari

January 01, 2019

काठमाडौँ, पुस १७ । विसं २०४८ मा स्थापित ‘नारायण गोपाल युवा सङ्गीत पुरस्कार’ यो वर्ष युवा गायक तथा सङ्गीतकार अजर जङ्गमलाई दिइने भएको छ ।

पुरस्कार छनोट समितिका अध्यक्ष एवं वरिष्ठ गीतकार विश्व बल्लभको अध्यक्षतामा बसेको बैठकले जङ्गमलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको राष्ट्रिय युवा सेवा कोषका अध्यक्ष भीमबहादुर अधिकारीले बताए ।

उक्त पुरस्कारको राशि रु ४० हजार, स्वर्णपदक र प्रमाणपत्र रहेको छ । यस्तै ‘अरनिको युवा कला पुरस्कार’ यो वर्ष युवा कलाकारद्वय समुद्रमान श्रेष्ठ र सुन्दर लामालाई संयुक्त रूपमा प्रदान गरिने कोषले बताएको छ ।

उक्त पुरस्कारको राशि संयुक्त रूपमा रु ५० हजार, स्वर्णपदक र प्रमाणपत्र रहेको छ । कोषले ‘नारायण गोपाल युवा सङ्गीत पुरस्कार’ विविध साङ्गीतिक विधामा निरन्तर सक्रिय रहँदै सङ्गीत, गायनका कलात्मकता एवं सिर्जनशीलताको श्रीवृद्धिमा मुलुकको मौलिक, सांस्कृतिक प्रवृत्तिमा प्रतिबद्ध रही योगदान पुर्याउने ४० वर्ष ननाघेका युवा गायक तथा सङ्गीतकारलाई दिइँदै आइएको छ ।

कोषले राष्ट्रिय विभूति अरनिकोको स्मृति एवं सम्मानको साथै कलाको संरक्षण र विकासमा प्रोत्साहन गर्न २०५७ सालमा ‘अरनिको युवा कला पुरस्कार’ स्थापना गरेको थियो ।