कभर स्टोरी

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

By Bala Adhikari

January 03, 2019

काठमाडौँ, पुस १९ । आज बसेको प्रतिनिधिसभाको विशेष समयमा भाग लिने सांसदले राष्ट्रिय, अन्तर्राष्ट्रिय, क्षेत्रीय, जिल्ला र निर्वाचन क्षेत्रसँग समसामयिक विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए ।

सोे बैठकमा पहिलो वक्ताका रूपमा नेकपाका भीमबहादुर रावलले माथिल्लो कर्णाली विद्युत् आयोजना निर्माण गर्ने सन्दर्भमा भएको सम्झौता जिएमआर कम्पनीलाई कडाइका साथ पालना गराउँदै आयोजना अगाडि बढाउनका लागि सुझाए ।

नेपालको राष्ट्रिय हित र सहमति अनुसार सो परियोजनालाई अगाडि बढाउने सन्दर्भमा सरकारबाट ठोस निर्णय गरिनुपर्नेमा जोड दिँदै उनले कानून विपरित कार्य गर्ने तथा आयोजना लम्ब्याउन खोज्ने कम्पनीलाई म्याद नथप्न पनि अनुरोध गरेका छन् ।

नेपाली कांग्रेसका डा डिला संग्रौलाले मुलुक अहिले जताततै समस्यै समयस्याबाट ग्रसित भएकोे बताएकी छिन् । उनले निर्मला पन्तका हत्यारालाई पनि सरकारले नै संरक्षण गरिरहेको आरोप लगाएकी छिन् । देशमा अहिले भ्रष्टाचार व्याप्त रहेको भन्दै उनले शान्तिसुरक्षाको अवस्था अत्यन्त कमजोर भएको र यसमा सरकार असफल हुँदै गएको टिप्पणी गरिन् ।

राष्ट्रिय जनता पार्टी नेपालका अनिलकुमार झाले अघिल्लो वर्ष असिना र बागमती नदीमा आएको बाढीले रौतहटका किसानले लगाएको खेतीपाती नष्ट भए पनि हालसम्म क्षतिपूर्ति पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

संघीय समाजवादी फोरम नेपालका सरिता गिरीले युरोप र अमेरिकासमेत सशङ्कित भएको चिनियाँ कम्पनी (हुवावे)लाई नेपालमा प्रधानमन्त्री कार्यालयको ‘वार रुम’को सूचना प्रविधिको व्यवस्थापन जिम्मेवारी किन दिइएको हो भनी प्रश्न गर्दै यसले मुलुकको सुरक्षा चिन्ता बढाउने पक्षलाई ख्याल गर्नुपर्ने आवश्यकता औंल्याए ।

राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले प्यूठानका विभिन्न भागका चुनढुङ्गाको अव्यवस्थित उत्खननले बस्ती पहिरोको जोखिममा रहेको हुँदा त्यसमा सम्बन्धित निकायको ध्यान जानुपर्नेमा जोड दिए ।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले २०४१ सालसम्म मालपोत कार्यालय भक्तपुरमा नगरपालिकाको नाममा दर्तामा रहेको सल्लाघारीस्थित रानीपोखरीको जग्गा पञ्चायतकालमा सेनालाई हस्तान्तरण गरिएको जनाउँदै जनताको कला र सांस्कृतिक सम्पत्तिका रूपमा रहेको सो जग्गा पुनः सार्वजनिक रूपमै कायम हुनुपर्ने माग गरे ।

नेकपाका सत्या पहाडीले डोल्पामा सडक दुर्घटनामा मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउन र जिल्ला अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गर्न माग गरे ।

नेपाली कांग्रेसका दिव्यमणि राजभण्डारीले प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा उपाधि लिन कोस्टारिकाको भ्रमण गरेको टिप्पणी गर्दै त्यहाँ भएको खर्चको विवरण सदनलाई जानकारी गराइयोस् भने ।

नेकपाका नारायण खतिवडाले गल्छी–त्रिशूली सडक अन्तर्गत नुवाकोटको विदुर नगरपालिका अन्तर्गत पर्ने आठ किमी सडकमा पर्ने जनतालाई विभेद नगरी मुआब्जा दिन माग गरे । नेकपाका टेकबहादुर बस्नेतले दाङमा केही दिनअघि भएको बस दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई उचित क्षतिपूर्ति दिन र उक्त सडकको स्तरोन्नति गर्न माग गरे ।