nc news

आमा बुवाको सम्झनामा डा. महतले बाँडे विद्यार्थीहरुलाइ न्यानो कपडा

By Bala Adhikari

January 03, 2019

नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले हाल स्थानीय निकायलाई प्राप्त अधिकारको सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । टोलकुमारी खड्गबहादुर महत स्मृति प्रतिष्ठानद्धारा आज नुवाकोटको पञ्चकन्या गाउँपालिका, कबिलासमा अवस्थित शान्ति विद्या आधारभूत विद्यालयका विद्यार्थीहरुलाई झोला तथा न्यानो कपडा वितरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै सहमहामन्त्री डा.महतले स्थानीय निकायको काम भनेको सिंहदरबारको आँखा नपुग्ने ठाउँमा जनताको घर आँगनमै रहेर जनताको सेवा गर्नु हो, तर करमााथि कर थोपरेर जनतालाई दुःख दिनु नभएको प्रस्ट पारेका छन् । सहमहामन्त्री डा.महतले तर वर्तमान ओली सरकारले भने जनतालाई विकास र सुख सुविधा होइन कि जेमा पनि करमात्र लगाएर जनतालाई दुःख मात्र दिएको भन्दै आलोचना गरे । उनले भने, यो सरकार जनतलाई विकास तथा सुविधा दिन आएको होइन बरु हुने नहुने कामको आश्वासन र करमात्र थोपरेर जनतालाई दुःख मात्र दिन आएको हो ।

डा.महतले नेपालको संविधानले स्थानीय नियकालाई असीमित अधिकार दिएको जानकारी गराउदै भने, अधिकारको सही सदुपयोग गरी गाउँकै विकासमा लगाउनुपर्छ । उनले गाउँको विकासका लागि सबै एकजुट हुनुपर्ने र गाउँका लागि आएको बजेट आफ्नै ठानेर एकीकृत विकास आयोजनाको अवधारणाका साथ समुदायको अधिकतम हित हुनेगरी सो क्षेत्रमा लगाउनुपर्ने सुझाव दिएका छन् । उनले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा ओर्लिएको र त्यसको हरहिसाब जनताले एक एक गरेर राखिरहेको बताए ।

सरकारका यस्ता कैयौँ संस्थागत भ्रष्टाचारहरुमध्येको एक उदाहरण वाइडबडी प्रकरण हो, उनले भने । सो प्रतिष्ठानकी अध्यक्ष विना महतले नुवाकोट जिल्ला र त्यसमा पनि कबिलास आफ्ना भावनात्मक सम्बन्ध रहेको स्थान भएकोले यस क्षेत्रको विकासका लागि आफू सक्दो रुपमा प्रयत्नरत रहेको र आगामी दिनमा पनि यसको विकासमा लाग्ने प्रण गर्नुभयो । यस प्रतिष्ठानले उक्त विद्यालयमा छात्रवृत्ति वितरण गर्ने तथा विद्यार्थीहरुलाई झोला लगायतका सामग्री र जाडो मौसममा न्यानो कपडा वितरण गर्दै आएको छ । साथै नुवाकोट जिल्लामा आधारित रहेर उक्त प्रतिष्ठानले केही वर्षदेखि एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ ।

विसं २०७२ को भूकम्पबाट पीडितहरुलाई पनि सो प्रतिष्ठानले पुराएको थियो । सो प्रतिष्ठान डा. प्रकाशशरण महतका माता स्वर्गीय टोलकुमारी र पिता खड्गबहादुरको स्मृतिमा स्थापना गरिएको हो । यस संस्थाले नुवाकोटमा आधारित रहेर विभिन्न समाजसेवाका कार्य गर्दै आएको छ ।