कभर स्टोरी

‘मणिविक्रम शाह युवा खेलाडी अवार्ड’ उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिने

By Bala Adhikari

January 04, 2019

काठमाडौँ, पुस २० । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक युवा खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘मणिविक्रम शाह युवा खेलाडी अवार्ड’ प्रदान गर्ने भएको छ ।

बिहीबार एन्फाले एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय टोलीका पूर्वकप्तान स्वर्गीय शाहको स्मृतिमा उक्त पुरस्कार प्रदान गर्न लागिएको बताएको हो ।

उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई रु एक लाख अवार्ड प्रदान गरिनेछ । शाहको गत वैशाखमा निधन भएको थियो । शाहजस्तो उत्कृष्ट खेलाडीको नाममा पुरस्कार स्थापना गर्दा उनीप्रति सच्चा श्रद्धाञ्जली हुने एन्फाको भनाइ छ ।

शाहले आफ्नो खेल जीवनमा नेपाली फुटबललाई सम्झना गराउने गरी थुप्रै सफलता दिलाएका थिए । त्यसमध्ये सन् १९९३ मा दक्षिण एशियाली फुटबलमा नेपालले स्वर्ण जित्दा उनले गरेको ‘फ्रि किक गोल’को चर्चा अहिले पनि हुने गरेको छ ।

अन्तिम चरणमा उक्त खेलमा २–१ ले पछि परेको नेपाललाई मणिले खेल सकिन ३० सेकेण्ड बाँकी रहँदा फ्रिकिकमार्फत गोल गरेपछि नेपालले भारतलाई बराबरीमा रोक्नाका साथै ‘पेनाल्टी सुटआउट’मा भारतलाई हराउन सफल भएको थियो ।

नेपाली राष्ट्रिय टोलीबाट सन् १९८५ बाट १९९८ सम्म ४८ खेल खेलेका मणिले अन्तर्राष्ट्रियस्तरमा छ गोल गरेका थिए ।