कभर स्टोरी

कोटेश्वर–कलङ्की ‘सर्भिस ट्र्याक’ को पाँच किलोमिटरको काम सम्पन्न

By Bala Adhikari

January 06, 2019

ललितपुर, पुस २२ । कोटेश्वर–कलङ्की सडकको बाहिरी लेन ‘सर्भिस ट्र्याक’ को निर्माण आधा सम्पन्न भएको छ । चिनियाँ सरकारले आठ लेनको सडक निर्माण सम्पन्न गरेसँगै नेपाल सरकारले गर्ने भनिएको दुई लेनको काम भइरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जानकारी गराएको छ ।

अहिलेसम्म झण्डै पाँच किलोमिटर काम सम्पन्न भइसकेको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए । आगामी वर्ष बाँकी पाँच किलोमिटरको काम सम्पन्न गर्ने योजना छ । चक्रपथको भित्रपट्टि र बाहिरपट्टि गरेर दुवैतर्फको काम भइरहेको छ ।

यो सडकमा मुख्य लेन, सहायक लेन र ‘सर्भिस ट्र्याक’ गरेर तीन प्रकारका लेन छन् । मुख्य र सहायक लेन चार/चार र ‘सर्भिस ट्र्याक’ दुवैतर्फ एक/एक गरेर जम्मा दुई लेनको छ । आठ लेन सडक निर्माणको जिम्मेवारी चिनियाँ निर्माण कम्पनी संघाइ निर्माण सेवा समूहले लिएको थियो ।

बाहिरपट्टिका दुई लेन सडक विभागले निर्माण गरिरहेको छ । सर्भिस ट्र्याकबाट नै चालक चक्रपथमा प्रवेश गर्न पाउँछन् । सर्भिस ट्र्याकबाट निश्चित चोकमा पुगेपछि मात्रै चालक सहायक र मुख्य लेनमा छिर्न पाउँछने उनको भनाइ छ ।

अहिले आठ लेनको सडक भए पनि यी दुई लेनसहित सडक १० लेनको हुनेछ । सडकको निर्माण सकेसम्म चाँडो सक्ने योजना रहेको इञ्जिनीयर शर्माले बताएका छन् ।

वार्षिक जति बजेट छुट्टिन्छ, त्यसैका आधारमा काम हुनेछ– उनले भने । गत मङ्सिर मसान्तमा चिनियाँ निर्माण कम्पनीले आठ लेन सडक निर्माणको सकिसकेको छ ।