कभर स्टोरी

केन्द्रको विवाद लिएर काठमाडौँसम्म

By Bala Adhikari

January 06, 2019

जाजरकोट, पुस २२ । जुनिचाँदे गाउँपालिकाको प्रशासकीय केन्द्र राख्ने सम्बन्धमा सिर्जना भएको विवाद मिलाउनका लागि जनप्रतिनिधिको टोली अहिले काठमाडौँ आएको छ ।

लुहादह वा सानाखोलामा प्रशासकीय केन्द्र राख्ने भन्ने विषयमा उठेको विवाद मिलाउन जनप्रतिनिधिको टोली काठमाडौँ आएको हो । शुक्रबार जनप्रतिनिधिलेको टोलीले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग छलफल गर्दा पनि सहमति हुन सकेको थिएन ।

एघार वटा वडा रहेको उक्त गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित आठ वडाध्यक्षले लुहादहमा र तीन वडाध्यक्षले सानाखोलामा केन्द्र राखिनुपर्नेमा जोड दिएका वडा ५ का वडाध्यक्ष राजबहादुर शाहीले बताए ।

सो गाउँपालिकाको बैठकबाट बहुमत जनप्रतिनिधिले लुहादहमै प्रशासकीय केन्द्र बनाउने निर्णय गरेर सहमति गर्न कर्णाली प्रदेशमा असार ३० गते पठाएकामा उक्त प्रदेशले सो निर्णयलाई केन्द्रसम्म नपुर्याउँदा अहिलेसम्म उक्त गाउँपालिकाको प्रशासकीय केन्द्रको विषय टुङ्गीन नसकेको हो ।

बहुमत जनप्रतिनिधिले गरेको निर्णय अहिलेसम्म रोकेर हाम्रा काममा अवरोध खडा गरिएको लुहादह केन्द्र पक्षका जनप्रतिनिधिले भने ।

राजपत्रमा उक्त गाउँपालिकाको केन्द्र पराले भनेर तोकिएकामा सो गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले पराले पायक पर्ने ठाउँ नभएकाले लुहादहमै राख्नुपर्ने भनी गरिएको निर्णय अहिलेसम्म रोकेर बहुमत जनप्रतिनिधिको भावनामा चोट पुर्याएको बताए ।