कभर स्टोरी

गुणस्तरीय औषधि उत्पादनमा जोड

By Bala Adhikari

January 07, 2019

काठमाडौँ, पुस २३ । स्वदेशी औषधि उद्योगलाई विशेष संरक्षण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधिको प्रभावकारी व्यवस्थापनमा जोड दिने भएको छ ।

आइतबार उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा बसेको औषधि परामर्श परिषद्को १५ औँ बैठकमा औषधिको मूल्य निर्धारण, अनुगमन समिति निर्माण तथा प्रभावकारी व्यवस्थापन गर्ने विषयमा छलफल गरिएको थियो ।

उक्त बैठकमा औषधि व्यवस्था विभागलाई सुदृढ बनाउने, गुणस्तरीय औषधि उत्पादन तथा आयात व्यवस्थापन गर्ने विषयमा बैठकमा छलफल भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

औषधिको व्यवस्थापन गर्नका लागि आगामी दिनमा मन्त्रालयका पदाधिकारी, औषधि उत्पादक र आयातकर्ताबीचमा छलफल गर्ने बैठकले निर्णय गरेको छ । सोही अवसरमा उपप्रधानमन्त्री यादवले औषधि ऐनको विनियमावली बनाउँदा औषधिको मूल्य जनताले धान्नसक्ने हुनुपर्ने बताउँदै औषधिको गुणस्तर र मूल्य सन्तुलनमा ध्यान दिन निर्देशन दिएका छन् ।

उनले औषधि उत्पादकको गुनासोलाई प्राथमिकता दिँदै स्वदेशी उद्योगलाई संरक्षण गर्दै गुणस्तरीय र उत्पादन क्षमता वृद्धि गर्दै लाने, आयातलाई अझ व्यवस्थित बनाउनका लागि निर्देशन दिए ।

उपप्रधानमन्त्री यादवले औषधि व्यवसायीले गुणस्तरीय उत्पादन बढाउन ध्यान दिन र विश्वस्वास्थ्य सङ्गठनको मापदण्डलाई तलमाथि नगरी अघि बढ्न, लाइसेन्स र नवीकरण गर्ने जटिलता हटाउने तथा जनशक्ति व्यवस्थापनमा ध्यान दिइने जनाएको विज्ञप्तिमा बताइएको छ ।