कभर स्टोरी

‘सांसदप्रति सरकार उत्तरदायी बन्नुपर्ने’

By Bala Adhikari

January 09, 2019

काठमाडौँ, पुस २५ । सरकार सांसदप्रति उत्तरदायी बन्नुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले बताएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकको सुरुवातमै कांग्रेसका सांसद उठेपछि सभामुख कृष्णबहादुर महराले सांसद खाँणलाई बोल्न समय दिएका थिए ।

सांसद खाँणले प्रतिनिधिसभा नियमावलीमा सभामुखको अनुमतिले प्रधानमन्त्री तथा मन्त्रीले सार्वजनिक वक्तव्य दिइसकेपछि सांसदले समय माग गरेर प्रश्न राख्न पाउने व्यवस्था रहेको बताए । यही पुस २२ गते बैठकमा बोल्नका लागि समय माग गर्दा पनि समय नदिएको गुनासो गर्दै उनले सरकार सांसदप्रति उत्तरदायी नभएको आरोप लगाएका छन् ।

सांसदले प्रश्न सोध्दा प्रधानमन्त्री र मन्त्रीले किन जवाफ दिनुहुन्न सांसद खाँणले भने– हामीले नेपाली जनताको तर्फबाट प्रश्न सोध्ने हो, यसमा हाम्रो गम्भीर आपत्ति छ । सभामुखले सांसदको अधिकारको रक्षा गर्नुपर्छ भन्ने अनुरोध छ ।

प्रधानमन्त्री र मन्त्रीले सांसदले उठाएको प्रश्नको जवाफ नदिए बैठक अवरोध गर्ने उनले ध्यानाकर्षण गराए । सांसद खाँणको भनाइप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सभामुख महराले मन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिँदा जवाफ दिन निर्देशन दिए ।

सो लगत्तै राष्ट्रिय जनता पार्टी नेपालका सांसदहरु उभिएर विरोध जनाएपछि सभामुख महराले राजपा नेपालका प्रमुख सचेतक लक्ष्मणलाल कर्णलाई बोल्न समय दिएका थिए ।