आर्थिक

साझाका नयाँ बस थपिँदै

By Bala Adhikari

January 10, 2019

काठमाडौं, पुस २६ । साझा यातायातले ल्याउन लागेका थप २० वटा बस केही दिनमै नेपाल आइपुग्ने भएको छ । काठमाडौं तथा ललितपुर महानगर महानगरपालिका र साझा यातायातको लगानीमा यी बस नेपालमा ल्याउन लागिएको हो ।

नयाँ तीस बस निर्माण भइसकेको र अबको केही दिनमा बस नेपाल ल्याइसक्ने साझाले बताएको छ । साझाका एक अधिकारीका अनुसार एक दुई दिनमै भारतबाट बसहरु हिँड्छन्, भन्सार प्रक्रिया पास भएर आउन केही समय लाग्छ ।

काठमाडौँको सहरी यातायात व्यवस्थित बनाउन ठूला बसको आवश्यकता महसुस भएकाले थप तीस ठूला बस ल्याउन लागिएको साझाले जनाएको छ ।

नयाँ ल्याउन लागिएका सबै बस आइसकेपछि रुट इजाजत लिने प्रक्रिया सुरु हुनेछ । साझाले पुरानै रुटमा थप्ने र आवश्यक देखिए केही नयाँ रुटमा पनि सेवा थाल्ने योजना बनाएको छ । अब आउने बस पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपका सबै बस अपांगमैत्री हुने साझाको भनाइ छ ।

जम्मा ४० सिट रहने सो बस शारीरिक रुपमा अशक्त रहेका व्यक्तिका लागि बसको पछिल्तिरको ढोकाबाट ह्विलचेयरसमेत राख्न र निकाल्न मिल्ने गरी निर्माण गरिएको छ ।

बस आपूर्तिको सबै जिम्मा भारतीय कम्पनी अशोक लेल्यान्डले पाएको थियो । लामो समय बन्द रहेर २०७० साल वैशाखदेखि पुनः सञ्चालनमा आएको साझा यातायातले निकट भविष्यमा नै विद्युतीय बस पनि ल्याउने योजना बनाएको छ ।

काठमाडौं महानगरपालिकाले यो वर्ष साझालाई नयाँ बस किन्ने गरी ५ करोड रुपैयाँ दिएको थियो । ललितपुर महानगरपालिकाले पनि एक करोड सेयर लगानी गरेको छ । यस्तै ३ नम्बर प्रदेशको सरकारले साझा यातायातसँग ३० करोड रुपैयाँ बराबरको शेयर किन्ने तय भइसकेको छ ।

यो रकमबाट साझाले प्रदेशका पाँच शहरमा विद्युतीय बस चलाउनेछ । प्रदेश सरकारले विद्युतीय बस किन्न ३० करोड रुपैयाँ विनियोजन गरिएको बताएको छ ।

प्रदेश ३ को सरकारले २०८५ सालभित्र प्रदेशका पाँच वटा सहरमा पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधन विस्थापित गर्ने नीति लिएको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यही नीति कार्यान्वयन गर्न चालू आवमा साझाबाटै शेयर खरिद गर्न लागिएको बताएका छन् ।

काठमाडौं महानगरपालिका पनि विद्युतीय बस खरिदका लागि लगानी गर्न तयार रहेको बताएको छ । ललितपुर महानगरले पनि सानो भएपनि लगानी गर्ने बचन दिएको छ ।

विद्युतीय सवारी विस्तार गर्न महानगरले यसैवर्ष अर्को १० करोड बजेट विनियोजन गर्ने काठमाडौं महानगरका मेयर प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन् ।